हलुका बनायो एमालेले सेयर बजार, आफू सरकारमा भए बढाउने नत्र घटाउने

काठमाडौं । एमाले सरकारबाट बाहिरिएको दिनदेखि ओरालो लागेको सेयर परिसूचक १९६९ मा झरेको छ । पुस ११ गते एमाले सरकारमा जानेवित्तिकै सेयर बजार रफ्तारमा बढेको थियो । अर्थमन्त्री विष्णु पौडेल भएपछि नेप्से परिसूचक साढे २२ सय विन्दुसम्म पुगेको थियो । तर जब गठबन्धनमा विवाद देखिन थाल्यो, एमाले सरकारबाट बाहिरिने परिस्थिति निर्माण हुँदै गयो, नेप्से परिसूचक दैनिक घटेको घट्यै छ ।

नेप्से ओर्लनुका पछाडिको मुख्य कारण नै राजनीतिक उतारचढाव देखिन्छ। सेयर बजारले रुचाइएका अर्थमन्त्री पौडेलले राजीनामा दिए। नेपाल राष्ट्र बैंकको नीति पनि बजार अनुकूल देखिएन। गभर्नर महाप्रसाद अधिकारी एमालेका हुन् । पार्टीको अर्थमन्त्री हुँदा अधिकारीले सेयर बजार अनुकूल निर्णय लिने गरेका थिए । तर जब एमाले सरकारबाट बाहिरियो, तब राष्ट्र बैंकको नीति पनि बजार अनुकूल छैन ।

अर्थमन्त्री को हुने हो भन्ने टुंगा लागेको छैन। संयुक्त सरकारमा नेपाली कांग्रेसले अर्थमन्त्री पाउने करिब करिब निश्चित छ । त्यसैले सेयर बजार अनुकूल अर्थमन्त्रीको नियुक्ति हुनुपर्ने धेरैको धारणा छ । तरलता अवस्था सहज हुँदै जाँदासमेत बैंकहरूले फागुनमा ब्याजदर घटाउन कन्जुस्याइँ गरेकाले पनि सेयर बजारमा केही प्रभाव परेको अनुमान गरिएको छ।

नेपालको सेयर बजार स्थिर छैन । एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध अधिकांश नेताहरू सेयर बजारका खेलाडी हुन् । उनीहरूकै सनकका आधारमा सेयर बजार बढ्ने घट्ने गर्छ । सेयर खेलाडीहरूले आफूले किन्ने बेला सेयर बजार डाउन गराउने र थोरै सेयर भएकालाई बेच्न बाध्य पार्ने गर्छन् । जब सस्तोमा सेयर किनिसक्छन्, त्यसबाट मुनाफा लिनका लागि सेयर खेलाडीहरूले भाउ बढाउने गरेका छन् । त्यसकारण पनि नेपालको पुँजी बजारप्रति धेरैको भरोसा नभएको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *