चन्द्रागिरि साकोस र मनमोहन मेमोरियल अस्पतालबीच सम्झौता
काठमाण्डौं । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुलाई स्वास्थ्य उपचार सेवा सुविधा दिने भएको छ । चन्द्रागिरि साकोस र मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल स्वयम्भुविच स्वास्थ्य उपचार सेवा दिने सहमतीपत्रमा हस्ताक्षर भएको छ । अस्पतालका कार्यकारी निर्देशक डा.नस्तुप्रसाद शर्मा र संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले सहमतीपत्रमा हस्ताक्षर गरेका हुन् । पछिल्लो समय उक्त अस्पतालको व्यवस्थापन मेडी प्राईड हेल्थ केयर प्रालिद्वारा सञ्चालन भए पछि सदस्यहरुलाई थप सुविधा र सहुलियत प्रदान गर्ने गरी सहमतीपत्रमा हस्ताक्षर भएको हो ।
अब उक्त अस्पतालमा उपचार गराउँदा सदस्यले सामान्य शैया, ल्याव परीक्षण, एक्स–रे एवं भिडियो एक्सरे, ईसिजिमा १५ प्रतिशत छुट पाउने छन् । त्यसैगरी क्याबिन, आईसियु तथा आईसियु भेन्टिलेटर, अपरेशन, ईको, मेमोग्राम, ईन्डोस्कोपी र फिजियोथेरापी मा १० प्रतिशत छुट पाउने छन् । वर्षको एक पटक होल बढी चेकअपमा १५ प्रतिशत, आर्थिक रुपले विपन्न तथा असाहय सदस्यहरुलाई उल्लेखित सेवाहरुमा २० प्रतिशत छुट दिने सहमती भएको छ । त्यसैगरी ८० बर्षदेखि माथि उमेरका जेष्ठ नागरिक सदस्यहरुलाई उल्लेखित सेवाहरुमा ५० प्रतिशत र ७० बर्षदेखि ७९ वर्षसम्म उमेरका जेष्ठ नागरिक सदस्यहरुलाई उल्लेखित सेवाहरुमा २५ प्रतिशत छुट दिने सहमती भएको जनाइएको छ ।