टेलिकमका ग्राहकले हिमालयन बैंकको एप निःशुल्क चलाउन पाउने
काठमाडौं । नेपाल टेलिकमका सिम प्रयोगकर्ताहरुले हिमालयन बैंकको मोबाइल बैंकिङ एप निःशुल्क चलाउन पाउने भएका छन् । नेपाल टेलिकम र हिमालयन बैंकको सहकार्यमा हिमालयन बैंकका ग्राहकले सो बैंकको एप निःशुल्क चलाउन सक्ने व्यवस्था गरिएको हो । यस सम्बन्धी भएको सम्झौतापत्रमा नेपाल टेलिकमको तर्फबाट प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी र हिमालयन बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत उज्वल राजभण्डारीले हस्ताक्षर गरेका छन् । सो अवसरमा नेपाल टेलिकमका प्रमुख व्यावसायिक अधिकृत पहाडीले बैंकका मोबाइल एप प्रयोगकर्ताहरुको सहजताका लागि नेपाल टेलिकमले सहजीकरण गर्ने कार्यलाई निरन्तरता दिइरहेको बताए ।