पार्टीले छलाङ मारिसक्यो, आगामी निर्वाचनमा वैकल्पिक शक्ति हुन्छौं : अध्यक्ष श्रेष्ठ

काठमाडौं । विभिन्न पार्टी परित्याग गरी ठूलो संख्यामा नेता÷कार्यकर्ताहरु नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालमा आयोजित पार्टी प्रवेश तथा अन्तरक्रिया कार्यक्रममा उनीहरुलाई नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवं भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरीले पार्टीमा स्वागत गरिन् । उनीहरुलाई मन्त्री श्रेष्ठले खादा लगाएर पार्टीमा स्वागत गरेकी थिईन् ।

पार्टी प्रवेश कार्यक्रममा आफ्नो मन्तव्य राख्दै मन्त्री श्रेष्ठले नागरिक उन्मुक्ति पार्टीलाई टीकापुर आन्दोलनले जन्माएको स्पष्ट पारिन् । पार्टी स्थापना भएको डेढ वर्षमा नै नाउपाले छलाङ मारेको उनको भनाई छ ।

‘नागरिक उन्मुक्ति पार्टीका संस्थापक सुप्रिमो रेशम चौधरी काठमाडौंको डिल्लीबजार कारागारमा हुनुहुन्छ । .उहाँसँग देशका विभिन्न कारागारमा रहनुभएका टीकापुर घट्नामा दोषी बनाइएकाहरु हुनुहुन्छ । उक्त घट्ना भएरनै आज नागरिक उन्मुक्ति पार्टीको जन्म भएको छ,’ उनले भनिन् ।

दमनको विरुद्धमा शक्तिको उत्पादन हुनेभन्दै उनले नागरिक उन्मुक्ति पार्टी पनि सोही दमनको उत्पादन भएको बताईन् । आगामी आम निर्वाचनबाट नागरिक उन्मुक्ति पार्टी देशमा राजनीतिको वैकल्पिक शक्ति भएर उदाउने पनि उनको दाबी छ । दमनका विरुद्धमा सुदूरबाट उदाएको पार्टीले छोटो समयमा नै पूर्वसम्म आफ्नो वर्चश्व जमाएको उनले बताईन् ।

जहाँ दमन चल्छ, त्यो दमनको विरुद्धमा शक्ति उत्पादन हुने गर्दछ । त्यही शक्ति हो–नागरिक उन्मुक्ति पार्टी । देशका लागि वैकल्पिक शक्तिका रुपमा उदायको, सुदूरपश्चिमबाट उदाएको पार्टी आज पूर्वसम्म पनि फैलिईसकेको छ,’उनले भनिन् । साथै, उनले नवप्रवेशीहरुलाई बधाई एवं शुभकामना व्यक्त गरिन् ।

त्यसैगरी पार्टीका गण्डकी प्रदेश प्रमुख राजन गुरुङले पहिचानको मुद्दालाई लिएर आन्दोलन गरेका पार्टीहरुले अहिले उक्त मुद्दा छोडेको आरोप लगाए । उनले आफूहरु पहिचान, राष्ट्रियता र स्वाधिनताको पक्षमा रहेको स्पष्ट पारे ।

‘पहिचानको मुद्दालाई लिएर आन्दोलन गरेका दलहरुले आज खोई त ती मुद्दाहरु बोकेको ? खोइ त जातीय, संस्कृति र भूगोलका मुद्दाहरु ? पहिचानको मुद्दामा म मेरै उदाहरण दिन चाहन्छु, गण्डकी प्रदेश, कोशी प्रदेश । के पहिचान र स्वाधीनता नदीलाई चाहिएको हो ? राष्ट्रियता नदीलाई चाहिएको हो ?’उनले प्रश्न गरे ।

२०८४ सालमा हुने आम निर्वाचनमा नाउपा देशको वैकल्पिक राजनीतिक शक्तिका रुपमा उदाउने उनको पनि दाबी छ । विभिन्न पहिचानवादी मुद्दा बोकेको दल र संघ÷संगठनहरुले अहिले आफूहरुलाई समर्थन गरिरहेको उनको दाबी छ । नाउका संरक्षक रेशम चौधरी जेलमुक्त भएपछि नेपालमा भुईँचालो जाने उनको दाबी छ ।

जनमत पार्टीबाट नाउपा प्रवेश गरेकी नेतृ रीता अर्यालले अहिले सबैको माग रेशम चौधरीको रिहाइ भएको बताईन् । काठमाडौंबाट आगामी निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीलाई सरकार चलाउने पार्टीमा पुर्याउन लागिपर्ने बताईन् ।

‘जसले मान्छे मार्छ ऊ बाहिर छ । जसलाई टीकापुर घट्ना थाहै छैन, ऊ व्यक्ति आज त्यही काण्डमा जेलमा बसिरहनुभएको छ । अब हामी सबै एकजुट भएर रेशम चौधरीको रिहाईको लागि माग गर्नुछ,’ उनले भनिन् ।

नाउपामा पुष्पराज भण्डारी, पञ्चदेवी मगर, देवराज अवस्थि, माधव खड्का, मन्दिरा बस्नेत, अभिषेक जोड्याल, भुषण अर्याल, संगीता कुमारी घिमिरे केसी, प्रभुप्रसाद भण्डारीलगायत प्रवेश गरेका छन् । कार्यक्रममा पार्टीकी नेतृ तथा महिला विभाग प्रमुख एलिजा गौतमलगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिति थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *