अञ्जन श्रेष्ठ महासंघको वरिष्ठ उपाध्यक्षमा निर्वाचित
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ चयन भएका छन् । उमेशलालले उनलाई वरिष्ठ उपाध्यक्षका लागि समर्थन गरेपछि उनी स्वतः वरिष्ठ उपाध्यक्ष बनेका हुन् ।
वरिष्ठ उपाध्यक्षका लागि तीन जनाको प्रतिस्पर्धा भएको थियो । राचन्द्र संघई पहिलो चरणमा बाहिरिएपछि उमेशलाल र अञ्जन दोस्रो चरणमा प्रवेश गरेका थिए ।
दोस्रो चरणको निर्वाचनमा पुगेका अञ्जन श्रेष्ठ र उमेशलालबीच नयाँ नेतृत्वको लागि सहमति भएको हो । पहिलो चरणमा तीन प्रतिस्पर्धीमध्ये अञ्जनले ३७.९९ प्रतिशत, उमेशलालले ३१.५१ प्रतिशत र रामचन्द्र संघईले ३०.४६ प्रतिशत मत पाएका थिए । बढी मत ल्याउने उम्मेदवार अञ्जन र उमेशलालबीच पुनः निर्वाचनको प्रक्रिया थालिएको थियो ।
यसैबीच सहमतिको लागि निवर्तमान अध्यक्ष शेखर गोल्छा, नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकाल, बरिष्ठ उपाध्यक्षमा अन्तिम दुई प्रतिस्पर्धी अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच बैठक बसेको थियो ।
लगत्तै दुई प्रतिस्पर्धी अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच अलगै बैठक बसेको छ । विभिन्न चरणमा भएको छलफलपछि अञ्जनलाई उमेशलालले समर्थन गरेका हुन् ।
वर्तमान शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल, पूर्व अध्यक्षसहितको भद्र सहमतिमा उमेशलालले अञ्जनलाई वरिष्ठ उपाध्यक्षका लागि समर्थन गरेका हुन् ।