माधव नेपालले तनहुँ १ मा तोके किसान श्रेष्ठलाई गोविन्दको चुनावी कमान्डर

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी नेता किसान श्रेष्ठलाई तनहुँ १ को चुनावी कमान्डर तोकेका छन् । खुट्टा फ्याक्चर भएर लामो समयदेखि काठमाडौंस्थित घरमै आराम गर्दै आएका श्रेष्ठलाई अध्यक्ष नेपालले कांग्रेस उम्मेदवार गोविन्द भट्टराईको चुनावी कमान्डर बनाएर पठाएका हुन् ।
बारा ४ बाट प्रतिनिधिसभा सदस्यमा विजयी श्रेष्ठ आइतबार गृहजिल्ला तनहुँ जाँदैछन् । उनले अब वैशाख १० गतेको निर्वाचनमा भट्टराईलाई जिताएर मात्र आफू काठमाडौं फर्कने जानकारी दिएका छन् ।
श्रेष्ठ तनहुँमा प्रभावशाली नेता मानिन्छन् । २०७४ को निर्वाचनमा श्रेष्ठले वर्तमान राष्ट्रपति रामचन्द्र पौडेललाई पराजित गरेका थिए । त्यसबेला उनी एमाले–माओवादीको गठबन्धनबाट चुनाव लडेका थिए । अहिले उनी एकीकृत समाजवादीमा आबद्ध छन् । एकीकृत समाजवादीको तनहुँ १ मा मत त्यति धेरै नभए पनि उनको व्यक्तिगत प्रभाव छ । त्यसैले काठमाडौंस्थित घरमै उनी रहेका बेला कांग्रेस उम्मेदवार गोविन्द भट्टराई, एमालेका उम्मेदवार सर्वेन्द्र खनाल, रास्वपा उम्मेदवार स्वर्णिम वाग्ले उनलाई भेट्न पुगेका थिए ।
भट्टराई तनहुँ १ मा गठबन्धनका साझा उम्मेदवार हुन् । सोही कारण पनि माओवादी, एकीकृत समाजवादीलगायतका दलले उनलाई जिताउन प्रचार प्रसार तीव्र पारेका छन् । माओवादीले त कांग्रेससँग चुनावी अभियान नै सञ्चालन गरेको छ ।
तनहुँ १ मा गोविन्दराज जोशी फ्याक्टर निर्णायक मानिन्छ । यदि जोशी समूहले भट्टराईलाई समर्थन गरेमा उनको जित सुनिश्चित रहेको छ । अहिले जोशी समूहलाई भड्काउन र आफ्नो पार्टीलाई समर्थन रहेको भन्दै रवि लामिछानेले भ्रमपूर्ण प्रचार गरिरहेका छन् । तर, यसमा कुनै सत्यता नरहेको बताइन्छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *