बन्दीपुरमा चिनियाँ पर्यटक

काठमाडौं । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा चिनियाँ पर्यटक भित्रिएका छन् । कोभिड–१९ को सङ्क्रमण सुरु भएपछि विसं २०७६ चैतबाट चिनियाँ पर्यटकको आगमन बन्द भएको बन्दीपुरमा तीन वर्षपछि पहिलो पटक चिनियाँ पर्यटक आएका हुन् ।

बन्दीपुरमा लामो समयपछि चिनियाँ पर्यटकको आगमन भएपछि होटल व्यवसायी उत्साहित भएका छन् । होटल हिमालय दरबारका सञ्चालक वैश गुरुङले कोरोनापछि पहिलो पटक चिनियाँ पर्यटक बन्दीपुर भित्रिएको जानकारी दिए । “कोरोनापछि नेपालमा चिनियाँ पर्यटक आएका थिएनन्, कोरोनाभन्दा पहिला बन्दीपुरमा विदेशीमध्ये चिनियाँ पर्यटक बढी हुन्थे,” गुरुङले भने , “कोरोनाले सुस्ताएको बन्दीपुरको पर्यटन अब विस्तारै लयमा फर्किदैछ ।”

काठमाडौं ओर्लिएपछि पोखरा जाने क्रममा एकरात बिताउन भए पनि पर्यटक बन्दीपुर आउने गरेको उनले जानकारी दिए । “बन्दीपुरमा आएकामध्ये आधाजसो पर्यटक पोखरा र काठमाडौँ जाने तयारीमा छन्”, गुरुङले भने ।

बन्दीपुरमा यतिबेला अन्य देशका विदेशी पाहुनाको भने चहलपहल भइरहेको छ ।

चीनले फागुन १ गतेदेखि पर्यटकका रुपमा घुम्न जान पाइने देशको सूचीमा नेपाललाई पनि सूचीकृत गरेको थियो । बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष एवं होटल हेरिटेजका सञ्चालक किसन प्रधानले बन्दीपुरको पर्यटन विस्तारै लयमा फर्किदै गरेको बताए ।

सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दिपुर पुगिन्छ । जहाँबाट मनोरम हिमशृङ्खला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ ।

बन्दीपुरमा होटल सङ्घसँग आवद्ध साना ठूला गरी ७७ होटल सञ्चालनमा छन् । भक्तपुरे शैलीमा निर्माण गरिएको घरहरु, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्र लगायतकास्थल यहाँ आउने पर्यटकको आकर्षणको केन्द्रविन्दु बन्ने गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *