पोखरा रोयलले युवा सम्मेलन गर्दै
पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले २२औं स्थापना दिवसको अवसर पारेर युवा सम्मेलन गर्न लागेको हो । संस्थाले ‘हन्ड्रेड युथ, सहकारी दूत’ भन्ने नारा तय गरेको र युवा सदस्यहरुलाई लक्षित गरी कार्यक्रम गर्न लागेको प्रमुख कार्यकारी अधिकृत भिम गुरुङ्गले जानकारी दिए । सय जना युवाहरुलाई सहभागी गराएर सहकारीको बारेमा बताउने, सहकारीले दिँदै आएको सेवाको बारेमा जानकारी दिने र सहकारीप्रति उनीहरु धारणा र इच्छा बुझ्ने उदेश्यका साथ कार्यक्रम गर्न लागेको उनले जानकारी दिए । त्यसैगरी सम्मेलनबाट युवाहरुले के चाहन्छन्, त्यसको खोजी गर्ने र एक सय जना युवालाई सहकारीको बारेमा पढाएर जहाँ जहाँ उनीहरु बस्छन् त्यहाँ भोलेन्टर दूतको रुपमा पठाउने संस्थाको योजना रहेको छ । सहकारीमा नराम्रा पक्ष मात्र छैन, सहकारीले समुदाय र सदस्यको फाइदाको लागि पनि धेरै काम गरिराखेका छन् भन्ने जस्त विषयमा थोरै बहस गरियो भने समाजमा सकारात्मक सन्देश जाने उनले बताए । युवा र सहकारी तथा युवा र सहकारीको दायित्व भन्ने विषयमा कार्यपत्र पनि प्रस्तुत गरिने भएको छ ।
त्यसैगरी संस्थामा आवद्ध १८ देखि ४० बर्षका युवामध्ये ४–५ जनाले सहकारीमार्फत् हासिल गरेको सफलता कथा र उनीहरुको अनुभव पनि सम्मेलनमा प्रस्तुतिकरण गर्ने कार्यक्रम रहेको छ । सहकारीले पनि प्रविधि प्रयोगमा ल्याएको छ र भविष्यमा सहकारीमार्फत् पनि व्यवसायहरु गर्न सकिन्छ भनेर सहकारीमार्फत् सम्भावनाको खोजी गर्न आँटेको उनले जानकारी दिए । आगामी जेठ ६ गते संस्थाले सो सम्मेलन गर्ने जनाएको छ । संस्थामा ८ हजार ५ सय सक्रिय सदस्य रहेका छन् । त्यस मध्ये १८ देखि ४० बर्ष उमेर समुहका सदस्य ४२ प्रतिशत रहेको संस्थाले जनाएको छ । अनलाइन र संस्थाको सबै सेवाकेन्द्र मार्फत आवेदन दिन सकिने र युवा युवती दुवै समावेश हुने गरी सम्मेलनमा सहभागिता गराउने उनले बताए । संस्थाले यस्तो कार्यक्रम पहिलो पटक गर्न लागेको हो । विषम परिस्थितिमा अझ बढी सदस्यमाझ पुग्नुपर्छ र संस्थाको बारेमा जानकारी दिनुपर्छ भन्ने उदेश्य पनि सम्मेलनको रहेको छ । सम्मेलनमा एक सय मात्र युवालाई सहभागि गराउने र सय जना पुगेपछि आवेदन लिन बन्द गरिने भन्दै उनले फस्ट कम फस्ट सर्भिस दिने जनाए । पहिलो चरणमा सय युवालाई मात्र सहभागि गराउने र आगामी बर्षदेखि अन्य युवाहरुलाई सहभागी गराएर बर्षमा यस्ता एक÷दुई वटा कार्यक्रम गर्ने उनले जनाए ।
युवाहरुसँग बचतका लागि पैसाको अभाव र सहकारीहरु डिजिटल युगमा प्रवेश गर्न नसक्दा सहकारीप्रति युवाको आकर्षण नभएको सिइओ गुरुङले बताए । युवाहरुले प्रविधि खोजिराखेका हुन्छन्, तर सबै सहकारीले प्रविधि प्रयोग गर्न सकेका छनैन्, उनले भने‘ रोयलले एटिएम, मोबाईल बैकिंङ र क्युआर पे–मेन्ट जस्ता सेवा सञ्चालनमा ल्याइसकेको छ । हामीले अझैपनि सबै खाले प्रविधि ल्याउन सकेका छैनौं कि भन्ने लाग्छ ।’ अकोतर्फ सहकारीका बारेमा प्रचारप्रसार कम हुँदापनि युवाहरुको आकर्षण बढ्न नसकेको उनको बुझाई छ । संस्थाले २२औं स्थापना दिवससम्म आइपुग्दा समुदाय र सदस्यका लागि विविध सेवा दिन सकेको छ । सदस्य र समुदाय केन्द्रित भएर वित्तीय कारोवार गर्न सके, समय सापेक्ष लिडरसिप विकास गर्दै लैजान सके र सहकारी ऐन नियमलाई पालना गर्न सके सहकारी सफल हुने उनको विश्वास छ । सदस्यसँगै मिलेर कारोबार गरे सहकारीमा समस्या नआउने र सदस्यको विश्वास पनि निरन्तर रहने उनले बताए । सदस्यको विश्वास जित्न सके सहकारीले यस्ता आर्थिक मन्दीलाई पनि परास्त सकिने विश्वास उनको छ ।