अस्पतालको शय्याको विवरण वेवसाइटमा राख्न स्वास्थ्यमन्त्री बस्नेतको निर्देशन


काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले अस्पतालले दैनिकरुपमा शय्या उपलब्ध छ वा छैन भन्ने जानकारी अनिवार्यरुपमा वेबसाइटमार्फत उपलब्ध गराउन निर्देशन दिएका छन् । स्वास्थ्यमन्त्री बस्नेतले सङ्घीय अस्पतालले सामान्य र आकस्मिक शय्यामा भर्ना भएका र रिक्त श्ययाको सङ्ख्या वेबसाइटमा दैनिकरुपमा अध्यावधिक गर्न निर्देशन दिएका हुन् । उनले भने, ‘ठूलो पदमा भएका वा पहुँच भएकाले तत्कालै सहजै शय्या पाउने तर पहुँच नभएका बिरामीले नपाउने अवस्था छ । काठमाडौंमा अस्पतालको शय्याको खोजीमा हिँड्दा हिँड्दै बिरामी मृत्युसम्म हुने गरेको छ ‘सबै बिरामीको पहुँच र समय व्यवस्थापनका लागि अस्पतालले सात दिनभित्र अनिवार्यरुपमा श्ययामा भर्ना र रिक्त सङ्ख्याबारे वेबसाइटमा जानकारी राख्नुपर्छ ।

अस्पतालमा भीड व्यवस्थापन र सहजीकरणका लागि सङ्घीय अस्पतालमा बहिरङ्ग सेवामा अनलाइन टिकटको व्यवस्था १५ दिनभित्र गर्न निर्देशन दिएका छन् । मन्त्री बस्नेतले वैदेशिक भ्रमणलाई वैज्ञानिक र व्यवस्थित बनाउन निर्देशन दिए । उनले चालु आर्थिक वर्षभित्र भ्रमण भएका कर्मचारीको नामावली, सहयोगी निकाय र भ्रमणको उपलब्धिबारे विवरण माग गरे । ‘विदेश भ्रमण मन्त्रालयमा रोगका रुपमा देखिएको छ । दुर्गममा खटिएका व्यक्ति कहिले अवसर नपाउने तर विषय विज्ञका नाममा पटक–पटक विदेश भ्रमणमा जाने देखिएको छ । सकेसम्म वैदेशिक भ्रमण कम गर्ने र जानैपरे औचित्य पुष्टि गरेर मात्र स्वीकृत दिने उनको भनाइ छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *