यो सांसद विकास कोष होइन, संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम हो: अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा प्रकाशरण महतले सांसद विकास कोषको रकमको बचाउ गरेका छन् । अर्थ मन्त्रालयमा बजेटपछि आयोजित पत्रकार सम्मेलनमा मन्त्री महतले संसद्को भूमिका सिफारिस मात्र गर्ने भएको र कार्यान्वयन गर्नेमा नभएको बताए ।

‘यो सांसद विकास कोष होइन, संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम हो । सांसदहरूलाई कुनै आयोजना सिफारिस नै गर्न नपाउने भन्नु भएन । त्यहाँका आवश्यकता त्यहींका जनप्रतिनिधिलाई थाहा हुने हुनाले सिफारिस गर्न पाउने भनिएको हो’, उनले भने ।

महतले बजेटमा प्रत्येक निर्वाचन क्षेत्रमा पाँच करोड खर्च गर्न पाउने गरेर सांसद विकास कार्यक्रमलाई निरन्तरता दिएको बताए । ‘ठेक्का मन्त्रालयले लगाउँछ, सांसद्ले केही गर्न सक्दैन । सम्बन्धित मन्त्रालयले लगाउने हो’, उनले भने ।

बजेट कार्यान्वयन हुन्छ
अर्थमन्त्री महतले बजेट कार्यान्वयनमा संका नगर्न सरोकारवालासँग आग्रह गरेका छन् । बजेटमा लक्ष्य पूरा गर्न सकिने गरि तोकिएको भन्दै उनले यसलाई कामले प्रमाणित गरिने बताए ।

मंगलबार अर्थ मन्त्रालयमा आयोजित पोस्ट बजेट पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री महतले यसपटक बजेट कार्यान्वयनका समस्या पहिचान गरी बजेट निर्माण गरिएको बताए । बजेट प्रणालीमा सुधार, कार्यान्वयन सुधारमा बुँदागत रुपमै प्रयास गरिएको उनको भनाई छ ।

यस्तै, अर्थमन्त्री महतले बजेटको ध्येय विद्युतीय सवारी साधानलाई निरुत्साहित गर्ने नभएको बताए । सरकारले इन्ट्री लेभलका र नेपालमा धेरै आयात भएर प्रयोगमा रहेका ५० देखि १०० किलोवाटसम्मका विद्युतीय सवारीमा १५ प्रतिशत भन्सार अन्तःशुल्क बढाएको छ ।

यसले निजी प्रयोजनका विद्युतीय सवारी करिब २५ प्रतिशत महँगो हुने अवस्था बनेको छ । सार्वजनिक विद्युतीय सवारीमा पनि सरकारले कर बढाएको छ ।

महँगा विद्युतीय गाडीमा सरकार उदार देखिएपछि बिजुली गाडी प्रवर्द्धनको नीतिबाट सरकार पछि हटेको भन्दै आलोचना भएपछि अर्थमन्त्री महतले यसमा सत्यता नरहेको दाबी गरे ।

उनले भने, ‘बजेटको धेय विद्युतीय सवारी साधानलाई निरुत्साहित गर्ने हुँदै होइन, यो झुटो हो ।’ अर्थमन्त्री महतले विद्युतीय सवारी साधनलाई निरुत्साहित नगरेको भन्दै यसलाई ‘र्‍यासनलाइज’ मात्रै गरेको बताए ।

उनले भने, ‘अब फेरि पनि पेट्रोलियम गाडीमै जाने सम्भावना छैन ‌। पेट्रोलियम पदार्थको त्यही स्तरका गाडीमा धेरै कर छ। त्यसको तुलनामा धेरै कम छ ।’

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *