नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गरेको नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन परेको छ । वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीलगायतले बिहीबार नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरणको विरुद्ध रिट पेस गरेका हुन् ।

सर्वोच्च अदालतले रिट निवेदन दर्ता गरिसकेको छैन । अहिले दर्ताको प्रक्रियार्मै छ । रिटमा राष्ट्रपतिको कदम खारेज गरी नागरिकतासम्बन्धी कानुन संसदीय प्रक्रियाअनुसार बनाउन माग गरिएको छ ।

वरिष्ठ अधिवक्ता भण्डारीले राष्ट्रपतिबाट प्रमाणीकरण भएको विधेयकलाई तत्काल ऐनको अंग नबनाउन रिटमा माग गरिएको बताए । उनका अनुसार विधेयक कार्यान्वयन नगर्न अन्तरिम आदेशसमेत माग गरिएको छ ।

नागरिकता विधेयकसम्बन्धी समस्यालाई अध्ययन गरी दीर्घकालीन समाधान गर्नू भन्ने आदेश माग गरिएको भण्डारीको भनाइ छ । बुधबार प्रमाणीकरण भएको विधेयक राजपत्रमा प्रकाशित भएपछि लागू हुनेछ । सरकारले अहिलेसम्म राजपत्रमा प्रकाशन गरेको छैन । विधेयकबारे सर्वत्र आलोचना भएपछि सरकारले केही समयका लागि रोकेको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *