राष्ट्रिय सहकारी बैंकद्वारा पुँजी फिर्ता कोषको रकम बाँडफाँड
ललितपुर । राष्ट्रिय सहकारी बैंकले संरक्षित पुँजी फिर्ता कोषबाट सदस्यहरुले पाउने रकमको बाँडफाँड कार्य सम्पन्न गरेको छ। बैंकले संरक्षित पुँजी फिर्ता कोषबाट सदस्यहरुले पाउने रकमको बाँडफाँड कार्य गरेसंगै एउटै सदस्यले ४२ लाखभन्दा बढी रकम प्राप्त गरेकको छ। सहकारी ऐन, २०७४ तथा नियमावली २०७५ को प्रावधानअनुरुप बैंकले सदस्य संघसंस्थाहरुले जम्मा गरेको बचत रकमका लागि ४० प्रतिशत र कर्जामा तिरेको ब्याजका लागि ६० प्रतिशत भारका आधारमा कुल १८ करोड५५ लाख १२ हजार ६.१५ रुपैयाँ संरक्षित पुँजी फिर्ता कोषको रकम बाँडफाँट गरेको बैंकले जनाएको छ।
संरक्षित पूँजी फिर्ता कोषबाट प्राप्त हुने रकम सम्बन्धित सदस्य सहकारी संघसंस्थाको खातामा जम्मा गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाइंले बताए। उनका अनुसार बचत र कर्जा कारोबार गर्ने १५ हजार ४ सय ७४ सहकारी संघसंस्थाको संरक्षित पुँजी फिर्ता कोषबाट लाभान्वित भएका छन्।बचत र कर्जामा उच्च कारोबार गरी योगदान गरेबापत सबैभन्दा बढी रकम फिर्ता पाउने सदस्यले बचततर्फ ४२ लाख ७ हजार ७ २७ रुपैयाँ तथा कर्जातर्फ ११ लाख ४८ हजार ४९८ रुपैयाँसम्म प्राप्त गर्न सफल भएको गुरागाइंले जानकारी दिए। ‘उत्कृष्ट वित्तीय सेवासहितको सहकारी बैंक’ भन्ने परिकल्पनाका साथ अघि बढेको बैंकले संरक्षित पुँजी फिर्ता कोषबाट ५० हजारभन्दा बढी रकम प्राप्त गर्ने सहकारी संघसंस्थाहरु ७३३ रहेका छन्। हाल बैंकमा १६ हजारभन्दा बढी सदस्य सहकारी संघसंस्था छन्। यसअघि बैंकले आफ्ना सदस्य सहकारी संघसंस्थालाई आर्थिक वर्ष २०७८–७९का लागि बैंकको १९ औँ वार्षिक साधारणसभाबाट पारित गरी १५ प्रतिशत लाभांशबापतको रकम साधारणसभा सम्पन्न गरेको दिन गत पुस १८ गते वितरण गरेको थियो।
सहकारी ऐन, २०७४ तथा नियमावली २०७५ ले गरेको व्यवस्थापछि सहकारीहरुको केन्द्रीय निकायहरुमध्ये निरन्तर संरक्षित पुँजी फिर्ता कोषबाट सदस्यहरुलाई बचत र कर्जाका आधारमा रकम बाँडफाँड गर्ने बैंक पहिलो हो। बैंकले नियमित बचत तथा कर्जाको कारोबार गर्ने र संरक्षित पुँजी फिर्ता कोषबाट रकम पाउने सम्पूर्ण सहकारी संघसंस्थालाई हार्दिक बधाई व्यक्त गर्दै आगामी दिनहरुमा समेत राष्ट्रिय सहकारी बैंकमा उच्च कारोबार गरी संरक्षित पुँजी फिर्ता कोषबाट लाभ लिन अनुरोध समेत आग्रह गरेको छ।