देउवा सिंगापुरबाट फर्केलगत्तै बालुवाटारमा राति के भयो ?

काठमाडौं । स्वास्थ्य उपचारका लागि सिंगापुर गएका कांग्रेस सभापति शेरबहादुर देउवा शनिबार स्वदेश फर्केका छन् । १२ दिनपछि स्वदेश फर्केलगत्तै देउवा प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । नयाँ सरकार बन्ने हल्ला र समीकरण पनि फेरिने चर्चापछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देउवालाई बालुवाटार बोलाएका थिए । देउवा आउने भएपछि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि बालुवाटार पुगेका थिए ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा कांग्रेस महामन्त्री गगन थापाले चित्त बुझ्नेगरी काम नगरे गठबन्धन फेरिने बताएपछि बालवुाटारमा भुइँचालो गएको थियो । गठबन्धन ठीक ढंगले नचले फेर्ने कुरा नौलो नभएको थापाको दाबी थियो । ‘गठबन्धन ठीक ढंगले गएन, चित्त बुझेन भने गठबन्धन बदलिन्छ । नयाँ सरकार बन्छ, कुनै अनौठो कुरा भएन । बन्छ, भत्किन्छ,’ उनको भनाइ थियो । गगनको सो अभिव्यक्तिपछि प्रचण्डले तत्काल देउवालाई बालुवाटार बोलाएका थिए ।

बालुवाटारमा भएको शीर्ष नेताको बैठकले बजेट पास हुने र सरकार हेरफेरको कुनै सम्भावना नरहेको निष्कर्ष निकालेको छ । सरकार परिवर्तनको हल्ला चलिरहेका वेला शीर्ष नेताहरूबीच छलफल भएको हो । शुक्रबार मात्रै एकीकृत समाजवादीका अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी ओली कांग्रेस सभापति देउवालाई प्रयोग गरेर सरकार ढाल्न लागिपरेको बताएका थिए । ‘एमालेका अध्यक्ष केपी ओली अहिले बर्बराइरहेको तपाईहरूले सुनिरहनुभएको छ ।

कस्तो बिडम्वना होला, कस्तो चरित्र होला, अहिले कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा रहेको सरकारलाई ढालेर दलाल पुँजीवादसँग, उदार पुँजीवादसँग, काल्पनिक समाजवादसँग मात्र आफूलाई जोडेका छन् । उसलाई अघि बढाउन खोजिरहेका छन् ।

ओलीले नेपाली कांग्रेसलाई प्रभावित पारेर कांग्रेसले नै सरकार चलाओस्, साथ दिन तयार छु भनिरहेका छन्,’ उनले भनेका थिए । तर बालुवाटारमा देउवाले त्यस्तो कुनै सम्भावना नरहेको मात्र होइन, बजेट पनि पास हुने बताएपछि प्रचण्ड ढुक्क भएका छन् । एकीकृत समाजवादी र जसपाले पार्टी निर्णय गरेरै बजेट पास हुन नदिने बताइसकेका छन् ।

प्रचण्ड, देउवा र नेपालबीच बजेटका असन्तुष्टि सम्बोधन गरेर पारित गर्ने सहमति भएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा तीन शीर्ष नेताबीच बजेटमाथिका असन्तुष्टि सम्बोधन गरेर पारित गर्ने सहमति भएको हो । विनियोजन विधेयकमाथि उठेका प्रश्नको आइतबारबाट सम्बन्धित मन्त्रीले जवाफ दिने सम्भावित कार्यसूची छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *