सभापति शेरबहादुर देउवा हुन्जेलसम्म पार्टीबाट अर्को कोही पनि व्यक्ति प्रधानमन्त्री हुँदैन: शशांक कोइराला
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोईरालाले नेपाली काँग्रेस र नेकपा एमाले मिलेर नयाँ सरकार बनाउने कुरा सुनेको भएपनि पार्टी सभापतिसँग कुनै छलफल नभएको बताएका छन् ।
सोमबार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले नयाँ समीकरणका बारेमा पार्टी सभापतिसँग भेटेर कुरा गरेपछि मात्रै यथार्थ कुरा बाहिर आउने बताए । पार्टी सभापति शेरबहादुर देउवा हुन्जेलसम्म पार्टीबाट अर्को कोही पनि व्यक्ति प्रधानमन्त्री बन्न नसक्ने उनले स्पष्ट पारे ।
उनले भने, ‘सम्भवतः नेपाली कांग्रेस र नेकपा एमाले मिल्ने भन्नेकुरा सुनेको छु, तर पार्टी सभापतिसँग कुरा भएको छैन, भेटेर कुरा गरेपछि थाहा हुन्छ । हाम्रो पार्टी सभापति उहाँ नै हो, हामीले यसमा केही भन्नुपर्ने कुरा छैन । १५ औं महाधिवेशनपछि मात्रै काँग्रेसबाट कसले सरकारको नेतृत्व गर्ने भन्नेकुरा आउँछ । त्यो भन्दाअघि देउवाबाहेक अरु सम्भव लाग्दैन । १५ औं महाधिवेशनपछि मलाई सम्भावना छ पार्टी सभापतिमा देख्ने। एकदम सम्भावना छ । कार्यकर्ताले के भन्छन् त्यसपछि कुरा आउँछ।’
सांसद कोईरालाले सभापतिमा आफू उठ्नुपूर्व पार्टी कार्यकर्ताहरुको आग्रहलाई सुन्ने बताए ।