सरकारको कामप्रति प्रचण्ड र माधव नेपाल नै दुई कित्तामा, जनताले कसलाई पत्याउने ?
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफ्नो नेतृत्वको सरकारले उत्कृष्ट काम गरिरहेको दाबी गरिरहेका छन् । कतिसम्म भने उनले प्रतिनिधिसभा बैठकमै सरकारको कामले डिस्टिङ्सन पाउनुपर्ने दाबी गरेका छन् । तर सत्तारुढ दलकै नेताहरू सरकारको कामकारबाहीप्रति असन्तुष्ट देखिएका छन् ।
नेपाली कांग्रेस, एकीकृत समाजवादी, जसपाका नेताहरू नै प्रचण्ड सरकारका कामप्रति सन्तुष्ट छैनन् । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले त सरकारले राम्रो काम नगरे समीकरण नै फेर्नुपर्ने अवस्था आउन सक्ने बताइसकेका छन् । सरकार साना साना कुरामा अल्झेको, कुनै मन्त्रीले पनि राम्रो परफरर्मेन्स देखाउन नसकेको उनको मूल्यांकन छ ।
कांग्रेस सभापति शेरबहादुर देउवा त अर्थमन्त्री प्रकाशशरण महतले ल्याएको बजेटमा प्रचण्डले असन्तुष्टि जनाएको भन्दै आक्रोशित बनेको बुझिएको छ । प्रचण्डले बजेट संशोधन गर्नसकिने अभिव्यक्ति दिनुले उनी आफ्नो पार्टीका अर्थमन्त्री महतलाई विवादमा तान्न खोजेको र काम गर्न नसकेको देखाउन खोजिरहेको विश्लेषण देउवाको छ ।
सरकारलाई समर्थन गरिरहेको सिके राउतको जनमत पार्टीले पनि अहिले असन्तुष्टिका स्वर निकालिरहेको छ । सोही कारण उसले बजेटको विपक्षमा मतदान गरेको थियो । जसपाका अध्यक्ष उपेन्द्र यादव स्वयं प्रचण्ड सरकारको कामप्रति असन्तुष्ट रहनुले यो सरकारको भविष्य धेरै लामो नरहेको संकेत गरिरहेको छ ।
अहिले सरकारप्रति सबैभन्दा बढी असन्तुष्ट हुनेमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल पर्छन् । केपी ओलीको सरकारलाई ढाल्न प्रचण्डसँग दह्रो गठबन्धन गरेका माधव वर्तमान सरकारकै काम कारबाहीप्रति असन्तुष्ट देखिनुलाई सामान्य मानिएको छैन । उनले वर्तमान सरकारले विकास निर्माणको कामलाई गति दिन नसकेको बताउँदै जनतालाई सुशासनको प्रत्याभूति दिन नसकेको टिप्पणी गरिरहेका छन् ।
‘अहिले जनताले अपेक्षा गरे बमोजिम विकासले गति लिन सकेको छैन । शासन, प्रशासन चलेको छैन । भ्रष्टाचार अहिले पनि व्याप्त छ । ती सबै भ्रष्टाचारलाई उन्मूलन गर्नुपर्ने, सुशासनको प्रत्याभूति दिनुपर्ने र जनतालाई सहज सेवा उपलब्ध गराउनुपर्ने हुन्छ,’ ६५ औं संसद दिवसको अवसरमा शनिबार नेपालले भने । जनतालाई सुशासनको प्रत्याभूति गराउन प्रशासन लगायतका स्थानमा जनप्रतिनिधिले नै निगरानी बढाउनुपर्ने अध्यक्ष नेपालको भनाइ थियो ।
जबकि माओवादीका मन्त्री र सांसदहरू प्रचण्ड सरकारले धेरै राम्रा राम्रा काम गरिरहेको भनेर फेहरिस्त निकालिरहेका छन् । जनतामा भने सरकारप्रति चरम निराशा कायमै छ । यो सरकारले ठूलो काम गरेको भनेर दाबी गर्ने नक्कली भुटानी शरणार्थी प्रकरण ठगी मुद्दामा मात्र सीमित हुने देखिएको छ ।
अहिले बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा पार्नेमा धेरैजसो नापी र मालपोतका कर्मचारी र जग्गा किन्ने व्यक्ति पर्ने देखिएको छ । जबसम्म न्यायाधीश कुमार रेग्मी र एमाले उपाध्यक्ष विष्णु पौडेलका छोरा नवीन पौडेलमाथि कारबाही हुँदैन तबसम्म प्रचण्ड सरकारप्रति विश्वास नबढ्ने राजनीतिक विश्लेषकहरूको भनाइ छ ।