देउवालाई परमादेशको प्रधानमन्त्री भन्ने एमाले अहिले आफैं परमादेशबाट मुख्यमन्त्री बनाउन खोज्दै
काठमाडौं । २०७७ असार २७ गते सर्वोच्च अदालतको परमादेशपछि केपी ओलीको प्रधानमन्त्री पद गुम्यो । संविधानअनुसार प्रधानमन्त्री नियुक्त नभएको भन्दै उनी अदालतकै आदेशले पदमुक्त भएका थिए ।
अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको थियो । त्यसयता देउवा प्रधानमन्त्री भइञ्जेल एमालेले पदरमादेशबाट बनेको सरकार, परमादेशका प्रधानमन्त्री भनेर लाञ्छनायुक्त टिप्पणी गर्न छाडेन ।
अहिले सर्वोच्चकै परमादेशबाट एमाले कोशी प्रदेशमा हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाउन खोजिरहेको छ । अदालतको परमादेशलाई स्वागत गरिरहेको छ । बिहीबार सर्वोच्च अदालतले गरेको कोशीका मुख्यमन्त्री उद्धव थापा हटाउने परमादेशको एमाले नेताहरुले एक हात माथि उफ्रेर स्वागत गरिरहेका छन् ।
सर्वोच्चको फैसलाले वर्तमान मुख्यमन्त्री उद्धव थापा पदमुक्त भएका छन् । तर तत्कालीन मुख्यमन्त्री कार्कीलाई पुनर्बहाली गर्न फैैसला मौन छ । तैपनि एमाले नेताहरू कार्की नै एक साता मुख्यमन्त्री बन्ने बताइरहेका छन् । कतिसम्म भने कार्कीले आजै कामचलाउ मुख्यमन्त्रीको हैसियतमा काम गर्ने दाबी गरिरहेका छन् ।
२०७७ मा सर्वोच्च अदालतको परमादेशसँगै ओली प्रधानमन्त्रीबाट पदमुक्त भएका थिए । तर देउवाले पद तथा गोपनीयताको शपथ नलिएसम्म ओली नै कामचलाउ प्रधानमन्त्री थिए । अहिले कोशी प्रदेशमा पनि त्यही हो । जबकि हिक्मत कार्की विश्वासको मत नपाएर पहिल्यै पदमुक्त भइसकेका थिए ।
एमाले नेताहरू अदालतको फैसलामा सभामुखको हस्ताक्षरसहित पेस भएको त्रुटिपूर्ण दाबीपत्रलाई मान्यता दिई प्रदेश प्रमुखबाट उद्धव थापालाई मुख्यमन्त्री पदमा असार २१ गते गरिएको नियुक्ति र तत्सम्बन्धमा भए गरिएका काम कारवाही नेपालको संविधान प्रतिकूल देखिएकाले उत्प्रेषणको आदेशबाट बदर हुने ठहर्छ भनेकाले उनको नियुक्ति नै बदर भएकाले कार्की स्वतः पुनर्बहाली भएको दाबी गरिरहेका छन् ।
तर वर्तमान गठबन्धन सरकार भने एमालेको दाबीमा कुनै सत्यता नभएको बताइरहेका छन् । यसले कोशीमा को कामचलाउ मुख्यमन्त्री भन्ने लफडा निम्तिने देखिएको हो ।