सय किलो सुन प्रकरण : ठमेलको एक होटलमा छापा, एक जना पक्राउ
काठमाडौं । राजश्व अनुसन्धान विभागले एक सय किलो सुन तस्करी प्रकरणसँग संलग्न देखिएपछि ठमेलस्थित एक होटलमा छापा मारेको छ ।
विभागको टोलीले आइतबार बिहानैदेखि छापा मारेर अवैध रुपमा सुन आयात सम्बन्धि केही कागजात र सामग्रीहरु बरामद गरेको विभाग उच्च स्रोतले जनाएको छ । विभागको टोलीले होटलबाट एक जना नेपाल मुलका तर, बेल्जिनिमका नागरिकलाई पक्राउ गरेको छ ।
हङकङबाट सुन ल्याएर नेपालमा व्यवस्थापन गर्ने गिरोहसँग जोडिएको पाइएपछि विभागले होटल भियनामा छापा मारेको हो ।राजश्व अनुसन्धान विभागको टोलीले साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँच पार गरेर बाहिरिएको एक क्वीन्टल सुन सिनामंगलबाट बरामद गरेको थियो ।
मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर अवैध भित्रिएको सुन विमानस्थल भन्सारबाट जाँचपास समेत भएसकेको अवस्थामा विभागको टोलील नियन्त्रणमा लिएको थियो । विभागले सुन ल्याउने रेडी ट्रेड प्रा.लि.का सञ्चालक दिलीप भुजेल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका एजेन्ट र कर्मचारीसहित १८ जना पक्राउ गरेर थप अनुसन्धान गरिरहेको छ ।