बहिनी होटलमा बोलाउने, दाई थर्काउँदै ब्ल्याकमेलिङ गर्ने
काठमाडौं । हनी ट्र्यापमा पारी पैसा असुलेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर ललितपुरले आपराधिक लाभ लिन नहुने कसुरमा चार जनालाई पक्राउ गरेको हो ।
झापा घर भई बानेश्वर बस्ने २४ वर्षीया अनिता मगर भन्ने सिया मगर, सिन्धुपाल्चोक घर भई बानेश्वर बस्ने दिपक पराजुली, भक्तपुर दुवाकोट बस्ने २७ वर्षीय बिमल सुवेदी र सानोठिमी बस्ने २४ वर्षीय सरोज तिमल्सेना पक्राउ परेका छन् ।
प्रहरीका अनुसार अनिता मगरले फेसबुकमा पुरूषहरूलाई साथी बनाएर कुराकानी गर्थे । उनले प्रेम सम्बन्धसम्म बस्ने कुराकानी गर्ने गरेको अनुसन्धानमा खुलेको छ ।
कुराकानी गर्नेसँगै विभिन्न स्थान एवं होटलमा बोलाउने गरेका थिए । त्यसरी सामान्य कुराकानीपछि होटलबाट निस्केर आफूहरू बीचका कुराकानी दाजुभाउजूले थाहा पाएकाले अब उनीहरूले भने बमोजिम गर्नुपर्ने भन्ने गरेको प्रहरीले जनाएको छ ।
त्यसपछि दीपक पराजुली भन्ने व्यक्तिले ती पुरूषहरूलाई ब्ल्याकमेलिङ गरी थर्काउने गरेका थिए । उनले आफू गृह मन्त्रालयका प्रेस सल्लाकार हुँ भन्ने गरेका थिए । उनीबाट प्रेस कार्ड समेत बरामद गरेको छ । उनी पेशाले सवारी चालक भएको प्रहरीले जनाएको छ ।
यस्तै बिमलले पनि पुरूषहरूलाई मेसेज गरी भेट्ने र ब्ल्याकमेलिङ गरी धम्क्याउने गरेको प्रहरीले जनाएको छ । यसरी उनीहरूले योजनाबद्ध रूपमा धम्क्याएपछि पीडित पुरूषलाई कुनै स्थानमा पैसा लिएर आउन भन्ने गरेका थिए ।
यसरी हनी ट्र्यापमा पारेर आपराधिक लाभ लिने गरेको भन्दै पीडितहरूले प्रहरी परिसरमा उजुरी दिएका थिए । बुधबार ललितपुरको बालकुमारीस्थित बर्गर हाउसमा ३ लाखको चेक लिइसकेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरूबाट मोबाइल, सिमकार्ड, चेक, लागयत बरामद भएको छ । उनीहरूले अर्का एक जना पीडितबाट पनि तीन लाख २५ हजारको चेक लिइसकेको बरामद भएको थियो ।
उनीहरूमाथि थप अनुसन्धान गर्न जिल्ला अदालत ललितपुरबाट ५ दिन हिरासतमा राख्न अनुमति लिएको छ ।