भक्तपुर बचत संघले गर्यो गत आर्थिक बर्षको समीक्षा
भक्तपुर । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघले वार्षिक समिक्षा तथा आ.२०८०।८१ को बजेटनिर्माण कार्यक्रम आयोजना गरेको छ । संघका अध्यक्ष कृष्णगोविन्द लाखाजुले सहकारीमा हाल ऋणीले ऋण नतिर्ने, संचालकहरुले पैंसा चलाउने र बचतकर्ताहरुलाई बचत फिर्ता दिन नसक्ने तीन किसिमको समस्याहरु आएको बताए । उनले सहकारी विभागबाट जारी सूचना, सहकारी सुधार सुझाव कार्यदलले पेश गरेको अल्पकालीन तथा दिर्घकालिन उपायहरुको चर्चा गरेका थिए । उनले समिक्षा गर्दा आफ्नो कमजोर सुधार गर्ने मौका पाउँछ र असल बाटो देखाउने भएकोले समीक्षा गर्दै जानुपर्ने आवश्यकता औल्याए । कार्यक्रममा स्वागत मन्तव्य राख्दै संघका उपाध्यक्ष हरि बल्लले विषम परिस्थितीमा पनि संघको वासलात बढ्नु नै सदस्यलाई विश्वास जित्न सफल भएको बताए । उनले संघको मात्र समीक्षा नगरी अभियानको शुद्धिकरणको लागी समग्र अभियानमा संघको भुमिकाको विषयमा समेत छलफल गर्नुपर्ने बताए ।
संघका सचिव जगनाथ प्रजापतिले संघले आ.ब.२०७९।८० मा तय गरेका कार्यक्रमको समीक्षागत प्रगति प्रतिवेदन पेश गरेको थिए । संघले तय गरेका अधिकाशं कार्यक्रमहरु पुरा भएको तर सदस्यता बृद्धि, ऋण लगानी बृद्धि र अग्रिम व्याजकर दाखिला कम गर्ने लक्ष्यमा अपेक्षाकृत सफलता प्राप्त गर्न नसकेको उनको भनाइ छ । उनले जथाभावी सदस्यता वितरण र ऋण लगानीले संघको जोखिम बढाउने भएकोले संघले सदस्यता बृद्धि र ऋण लगानीमा विशेष ध्यान दिएको जनाए । संघका कोषाध्यक्ष कान्छाभक्त घजुले आ.व. २०७९।८० मा गतको कुल वासलातमा ३१ प्रतिशत र अनुमानमा ११९ प्रतिशतले बृद्धि भई २ अर्व २२ करोडको वासलात निर्माण गर्न सफल भएको समीक्षागत आर्थिक प्रगति प्रतिवेदन पेश गरेको थिए । आ.व.२०७९।८० मा संघले रु.३ करोड ४३ लाखको नाफा गर्न सफल भएको उनले बताए । संघका व्यवस्थापक बालकृष्ण घोजुले आ.व.२०८०।८१ को बार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गरेका थिए । कुल वासलात २ अर्व ४५ करोड र नाफामा ३ करोड ९० लाखको नाफा प्रक्षेपण गरिएकोे बजेट पेश गरे । साथै संघ र सदस्य संस्थाको संस्थागत विकासका लागि तालिम तथा कार्यक्रम अन्र्तगत २८ लाख १३ हजारको प्रस्तावित कार्यक्रममा समेत छलफल गरिएको थियो । कार्यक्रमको संचालन संघका वित्त तथा प्रशासन अधिकृत कृष्णश्वरी ह्यौंमिखाले गरेकी थिइन । संघको समिति, उपसमिति र कर्मचारीहरु गरी ४३ जनाको सहभागिता रहेको थियोे ।