मत्स्यनारायण मेला आज सकिँदै
काठमाण्र्डौ । मत्स्यनारायण मन्दिरको मेला आज सकिँदैछ । झण्डै तीन वर्षको अन्तरमा पर्ने पुरुषोत्तममासमा मात्र लाग्ने मत्स्यनारायण मन्दिरको मेला आज सकिन लागेको हो । तर, औपचारिक समापन भने भदौ १ गते गरिने मेला संयोजक तथा चन्द्रागिरि नगरपालिका–९ का अध्यक्ष अच्युत अधिकारीले जानकारी दिनुभयो ।
काठमाण्डौको चन्द्रागिरि नगरपालिका–९ मा पर्ने मन्दिरमा अहिले दैनिक हजारौँ भक्तजनको भिड लाग्ने गरेको छ । भगवान् विष्णुका दश अवतारमध्ये पहिलो मत्स्य अवतार यही ठाउँमा लिएर उहाँले वेदको रक्षा गर्नुभएको विषय विभिन्न पुराणमा उल्लेख गरिएको छ । मत्स्य अवताररूपी भगवान् विष्णुले जलमात्र पिएर सत्यव्रत राजासहित सप्तऋषिलाई मत्स्य पुराण सुनाउनुभएको थियो भन्ने विश्वास गरिन्छ । अहिलेसम्म २० लाखभन्दा धेरै भक्तजनले मन्दिरमा पूजा, आराधना एवम् दर्शन गरेको मेला व्यवस्थापन समितिले जनाएको छ ।