नेपाल इन्भेष्टमेण्ट मेगा बैंक र इको इन्फिनिटी प्रालीबीच सम्झौता
काठमाण्डौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले विद्युतीय स्कुटरलाई उच्च प्रवद्र्धन गर्न सुरुआत गरेको छ । बैंकले चारपाङ्ग्रे विद्युतीय सवारीसाधनलाई उपलब्ध गराउँदै आएको सहुलियत पूर्ण कर्जा विद्युतीय स्कुटरलाई पनि उपलब्ध गराउने नीति कार्यान्वयनमा ल्याएको छ । यसका लागि बैंक र इको इन्फिनिटी प्रालीबीच द्विपक्षीय सम्झौता भएको छ । नेपालमा इको इन्फिनिटीले ‘एनआइयू (न्यू) इलेक्ट्रिक’ नामक विद्युतीय स्कुटर पहिलो पटक सन् २०१७ मा भित्र्याएको थियो । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र इको इन्फिनिटी प्रालिका प्रमुख कार्यकारी अधिकृत डा मौसम बोहराले हस्ताक्षर गरे । सो सम्झौताअनुसार अब बैंकले ‘अटो लोन’अन्तर्गत सो कम्पनीद्वारा आयातित ‘न्यू इलेक्ट्रिक’ स्कुटर खरिद गर्दा ८० प्रतिशतसम्म किस्तामा ‘लोन’ प्रवाह गर्नेछ । यस्तो लोन स्कुटरको ‘वारेन्टी’का आधारमा चार वर्षसम्म हुने जनाइएको छ । सम्झौता हस्ताक्षरपछि बैंकका प्रमुख कार्यकारी अधिकृत पाण्डेले वातावरण संरक्षणका लागि नेपालमा विद्युतीय स्कुटर प्रवरद्धन गर्दै उपभोक्तालाई यसका बानी पार्नु आवश्यक रहेको बताए । उनले भने, ‘बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत इको इन्फिनिटी प्रालिसँग सहकार्य गरेको हो । यो सहकार्यले विद्युतीय स्कुटर प्रयोग गर्न चाहने उपभोक्तालाई कोशेढुङ्गाको काम गर्ने मैले विश्वास लिएको छु ।
इको इन्फिनिटी प्रालिका प्रमुख कार्यकारी अधिकृत डा बोहराले नेपालमा विद्युतीय सवारी साधनको प्रयोगमा उपभोक्तालाई बानी पार्न आफ्नो कम्पनीले सेवाको भावले काम गरिरहेको बताए । उनले भने, ‘न्यू दुईपाङ्ग्रे सवारीसाधन ‘स्मार्ट अर्बन मोबिलिटी’को अग्रणी प्रदायकका रूपमा विकसित हुँदै गएको छ । नेपालमा ८५ हजारभन्दा किलोमिटरभन्दा माथि गुड्न सफल छ । ‘न्यू ’का ब्याट्री अत्याधुनिक प्रविधियुक्त भएका कारण नेपालमा यसले लोकप्रियता हासिल गर्दै गएको सो प्रालीले जनाएको छ । ‘न्यू’को पोर्टफोलियोमा छ सिरिजका दुईपाङ्ग्रे सवारीसाधन नेपाली बजारमा उपलब्ध रहेका उनले जानकारी दिए । चौथो पुस्ताका ब्याट्री लिथियम टेक्नोलोजीमा आधारित रहेको र यस्ता सवारीसाधनमा ब्याट्री लामो समयसम्म टिक्नेछ । प्रमुख कार्यकारी अधिकृत निर्देशक डा बोहराले भने, ‘यस्ता ब्याट्रीले लामो रेञ्ज उपलब्ध गराउँछ ।
आधुनिक लिथियम आयन ब्याट्री टेक्नोलोजीले सजिलैसँग स्कुटरलाई सक्षम बनाउँछ । यसले प्रदर्शन, सुरक्षा र शैलीमा सम्झौता गर्दैन । न्यू इनर्जी टेक्नोलोजीले अनुकूलित स्टेट अफ चार्ज एल्गोरिदम, गतिशील सेल्फ लिर्निग ब्याट्री व्यवस्थापन प्रणाली र कन्फिगर योग्य क्षेत्र उन्मुख नियन्त्रणमार्फत यसको उद्देश्य प्राप्त गर्ने जनाइएको छ । उनका अनुसार न्यू स्कुटर उच्च गुणस्तर भएकै कारण गरुडा सेक्युरेटिज तथा गरुडा सपोर्ट सर्भिस र दराज अनलाइन सर्भिसले धेरै सङ्ख्यामा न्यू स्कुटर प्रयोगमा ल्याइराखेका छन् । पछिल्लो समय नेपालमा पनि सहरी गतिशीलता, अवधारणा र छनोटमा छिटोछिटो परिवर्तन हुँदै गएको छ । यस्ता सवारी साधनले वायु प्रदूषण कम गर्न, सुविधाजनक यात्रा गर्न र आधुनिक वातावरणमैत्री बनाउन कोशेढुङ्गाका रूपमा काम गरेको जनाइएको छ ।