कोशी सरकारविरुद्धको रिट न्यायाधीश खतिवडाको इजलासमा

काठमाडौं । कोशी प्रदेश सरकारविरुद्ध परेको रिटमा आज सुनुवाइ हुँदैछ ।

मुख्यमन्त्री उद्धव थापाले गैर संवैधानिक तरिकाले विश्वासको मत लिएको भन्दै नेकपा एमालेले दायर गरेको रिटमा आज सुनवाइ हुने भएको हो । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको सन्दर्भमा एमालेका तर्फबाट सर्वोच्च अदालतमा दायर भएको रिट निवेदन न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ ।

नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले प्रदेशसभाका सभाध्यक्षको मतसहित विश्वासको मत लिएको भन्दै थापा नेतृत्वको सरकार बर्खास्त गर्न अन्तरिम आदेशको माग गरेका छन् ।

मुख्यमन्त्री थापाले संविधान विपरीत र प्रचलित कानुन विपरीत विश्वासको मत लिने बेला सभाध्यक्ष रहेका इस्राइल मन्सुरीलाई मतदान गराएर विश्वासको मत प्राप्त गरेको एमालेको जिकिर छ । यसरी प्राप्त गरेको विश्वासको मत गैर संवैधानिक भन्दै एमाले सर्वोच्च पुगेको हो ।

यसअघि पनि सभामुखको मतसमेत जोडेर थापा मुख्यमन्त्री भएपछि एमाले सर्वोच्च पुगेको थियो । सो निर्णयलाई सर्वोच्चले खारेज गरिदिएपछि थापाले सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर पुनः मुख्यमन्त्री भएका थिए । तर, विश्वासको मत लिने बेला पुनः सभाध्यक्षको मत लिएपछि एमाले फेरि पनि सर्वोच्च पुगेको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *