हिमालयन बैंकले कान्ति बाल अस्पताललाई सहयोग गर्ने


काठमाडौं । हिमालयन बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महाराजगंजस्थित कान्ति बाल अस्पताललाई २० लाख रुपैयाँ बराबरको आर्थिक सहयोग गर्ने भएको छ । बैंकले प्रदान गरेको उक्त रकम कान्ति बाल अस्पतालले आफ्नो मुख्य प्रवेशद्वार निर्माण गर्न तथा अस्पताल हाता भित्र रहेको बाल उद्यान तथा त्यस वरपरको क्षेत्रको सौन्दर्यीकरण गर्न खर्च गर्ने छ । कान्ति बाल अस्पतालमा आयोजित एक समारोहका बिच उक्त रकम प्रदान गर्ने सहमति भएको छ । सो समारोहमा बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले कान्ति बाल अस्पताल विकास समितिका अध्यक्ष डा. बाबुराम गौतमलाई उक्त प्रतिवद्धता पत्र प्रदान गरेका थिए ।

सो अवसरमा अस्पतालका निर्देशक डा. युबानिधि बसौला, बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत विपिन हाडा, विजयमान नकर्मी, बैंकका महाराजगंज शाखाका प्रमुख अभय बहादुर शाह लगायत बैंकका र अस्पतालका अन्य कर्मचारीहरुको उपस्थिति थियो । प्रमुख कार्यकारी अधिकृत राणाले बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा विगतका वर्षहरुमा पनि सहयोग गर्दै आइरहेको तथा भविष्यमा पनि समाजको अति आवश्यक क्षेत्रमा निरन्तर सहयोग प्रदान गर्ने बताएका छन् । अस्पताल विकास समितिका अध्यक्ष गौतमले बैंकले कान्ति बाल अस्पताललाई प्रवेशद्वार निर्माण तथा उद्यानको सौन्दर्यीकरणको लागि गरेको आर्थिक सहयोगको लागि धन्यवाद दिएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *