तरुण दलको प्रदर्शन , गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग
काठमाडौं । नेपाली कांग्रेस निकट युवा संगठन तरुण दलले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग्दै प्रदर्शन गरेको छ ।
नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको विरोधमा प्रदर्शन गर्दै शुक्रबार रत्नपार्कमा विरोध प्रदर्शन गरेको हो । तरुण दलले गणेशमान शान्ति बाटिकाबाट रत्नपार्क, पुतलीसडक, प्रदर्शनी मार्ग, भद्रकाली हुँदै पुनः शान्ति बाटिका रत्नपार्कसम्म विरोध र्याली आयोजना गरेको थियो । विरोध र्यालीपछि आयोजित कोणसभामा तरुण दलका नेताहरुले गृहमन्त्री श्रेष्ठको राजीनामा मागेका हुन् ।
तरुण दलका पूर्वअध्यक्षसमेत रहेका यादवलाई बिहीबार भृकुटीमण्डपस्थित रिपोटर्स क्लवमा आयोजित साक्षात्कार कार्यक्रममा सहभागी भएर बाहिरिने क्रममा नुवाकोटका श्यामबहादुर सापकोटाले खुकुरी प्रहार गरी घाइते बनाएका थिए ।