बुद्ध एयर २७ औं वर्षमा
काठमाडौं। निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयर २७ वर्षमा प्रवेश गरेको छ। आन्तरिक उडान सेवाको २६ वर्षको अन्तरालमा कम्पनीमार्फत २ करोडभन्दा बढी यात्रुले सेवा लिएको कम्पनीले जनाएको छ। हाल बुद्धले ३ वटा एटीआर ४२ र १३ वटा एटीआर ७२ सहित १६ वटा जहाजमार्फत आन्तरिकतर्फ सुगम गन्तव्य र भारतको बनारसतर्फ अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ। कम्पनीले यात्रु मागलाई मध्यनजर गर्दै चालु महिना अक्टोबरभित्रै थप एउटा एटीआर ७२ सिरिजको जहाज ल्याउने योजना रहेको जनाएको छ। योसँगै बुद्ध एयरको जहाज संख्या १७ पुग्नेछ। यसैगरी कम्पनीले आफूअन्तर्गत सञ्चालित अत्याधुनिक ह्याङ्गरमार्फत आफ्ना जहाजसँगै स्वदेशी तथा विदेशी कम्पनीलाई पनि सेवा दिँदै आएको जनाएको छ।
कम्पनीले वातावरणमैत्री जहाजका साथै हवाई कम्पनीमा कार्यरत टेक्निकल, पाइलट तथा ग्राउन्ड अपरेसन अन्तर्गतका जनशक्तिलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार क्षमता अभिवृद्धि गराउँदै आएको कम्पनीका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले बताए। ‘बुद्ध एयरको उडान सेवालाई प्रभावकारी बनाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाबाट नियमित अडिट एवम् मूल्यांकन गराउँदै आएका छौं । हाल कम्पनीले पोखराका लागि दैनिक १७, विराटनगर तथा भैरहवाका लागि क्रमशः ९ र १० उडान भरिरहेको जनाएको छ। यस बाहेकका गन्तव्यहरुमा पनि आधा दर्जनभन्दा बढी उडान गर्दै आएको कम्पनीको दाबी छ। कम्पनीले सुर्खेत, तुम्लिङटार तथा धनगढीमा यात्रु मागअनुसार विस्तारै उडान संख्या थप्ने जनाएको छ।
















