आईपीओ जारी गर्दै ह्याम्स अस्पताल
काठमाडौं हस्पिटल फर एडभान्स्ड मेडिसिन एण्ड सर्जरी लिमिटेड (ह्याम्स अस्पताल)ले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनी पब्लिक लिमिटेडमा गएपछिको पहिलो साधारणसभाले सर्वसाधारणका लागि ११ लाख २५ हजार कित्ता शेयर जारी गर्ने निर्णय गरेको हो । जुन जारी पुँजीको १५ प्रतिशत हो । प्रति कित्ता एक सय रुपैयाँका दरले सर्वसाधारणमा शेयर जारी हुनेछ । अस्पतालले सेयर निष्काशनका लागि ब्रिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई समेत नियुक्त गरिसकेको छ ।
यसैमध्येबाट बढीमा ५ प्रतिशत सेयर कर्मचारीका लागि जारी गरिने साधारण सभाले निर्णय गरेको छ । बाँकी ८५ प्रतिशत सेयर स्वामित्व भने संस्थापक समूहको हुने अस्पतालले जनाएको छ । साधारण सभाले आफ्ना सेयरधनीहरूलाई १७.३८ प्रतिशत बोनस सेयर र ०.६७ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । त्यसपश्चात कम्पनीको कुल पुँजी ६३ करोड ७५ लाख रुपैयाँ हुनेछ । साधारण सभाले ५ सदस्यीय सञ्चालक समिति गठन गरेको छ ।
जसमा संस्थापक सेयरधनीको तर्फबाट राम शरण भण्डारी, दलबहादुर भण्डारी र प्रेम बहादुर भण्डारी नियुक्त भएका छन् । यस्तै सर्वसाधारण तर्फ गीता जोशी सायमी नियुक्त भएका छन् । साधारणसभाले स्वतन्त्र सञ्चालकमा टंकमणि शर्मालाई नियुक्त गरिएको छ । स्वास्थ्य क्षेत्रमा समेत अनुभव र प्रशासकीय अनुभव भएका शर्मा पूर्व महालेखा परीक्षक हुन् ।