टिकटक बन्द नगराउने इन्टरनेट सेवा प्रदायकलाई कारबाही गर्ने प्राधिकरणको चेतावनी


काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द नगराउने इन्टरनेट सेवा प्रदायकलाई कारबाही गर्ने चेतावनी दिएको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै प्राधिकरणले टिकटक बन्द नगराउने इन्टरनेट सेवा प्रदायक कम्पनीलाई कारबाही गर्ने चेतावनी दिएको हो । प्राधिकरणले सबै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकलाई टिकटक बन्द गर्न निर्देशन दिइसकेको भएपनि केही सेवा प्रदायकको नेटवर्कबाट टिकटकमा पहुँच पुगिरहेको र टिकटक प्रयोग भइरहेको भन्दै तत्काल निर्देशन कार्यान्वयन गरी जानकारी गराउन आग्रह गरेको छ । विज्ञप्तिमा भनिएको छ ।

प्राधिकरणको निर्देशन आदेशको पालना गर्नु सेवा प्रदायकको कर्तव्य हुने र सेवा प्रदायकले त्यस्तो निर्देशन आदेशको पालना नगर्दा दूरसञ्चार ऐन, २०५३ को दफा ४७ बमोजिम प्राधिकरणबाट कारबाही हुनसक्ने ब्यहोरा समेत सम्बन्धित सबैलाई जानकारी गराइएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको थियो । सरकारको निर्णय कार्यान्वयन गर्न प्राधिकरणले सेवा प्रदायक कम्पनीलाई तत्काल टिकटक बन्द गर्न निर्देशन दिएको थियो । केही सेवा प्रदायक कम्पनीले निर्देशन कार्यान्वयन नगरेको भन्दै प्राधिकरणले आदेशको पालना नगरे दूरसञ्चार ऐन, २०५३ को दफा ४७ बमोजिम कारबाही गरिने चेतावनी दिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *