बन्धक मुक्त गर्न हमास सहमतिनजिक पुगेको छ : बाइडेन

काठमाडौं । अमेरिकाका राष्ट्रपति जो बाइडेनले इजरायली बन्धकलाई हमासको कब्जाबाट मुक्त गर्ने विषयमा दुवै पक्ष सहमतिनजिक पुगेको बताएका छन् ।

इजरायलले गाजामा जारी आक्रमण रोक्ने र हमासले बन्धकलाई मुक्त गर्नेबारे छलफल भइरहेको उनले बताएका हुन् । ‘थ्यांक्स गिभिङ’ कार्यक्रममा एक पत्रकारको प्रश्नमा बाइडेनले सहमतिको प्रयास भइरहेको र त्यो निकट रहेको प्रतिक्रिया दिएका हुन् । रेडक्रस अन्तर्राष्ट्रिय समितिको सहजीकरणमा यसअघि हमासले केही बन्धकलाई छोडेको थियो। अहिले उक्त संस्थाका प्रमुख र हमास प्रमुख कतारमा रहेकाले दुईबीच भेट हुने र बन्धक छुटाउनेबारे थप प्रगति हुने अपेक्षा गरिएको छ।

यसैबीच गाजाको अल–शिफा अस्पतालबाट अन्तिम समयमा उद्धार गरिएका ३१ नवजात शिशुमध्ये २८ जनालाई इजिप्ट लगिएको छ। विश्व स्वास्थ्य संगठनले तीमध्ये १२ शिशुमा गम्भीर संक्रमण रहेकाले कायरोका अस्पताल लगिएको बताएको छ।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार ७ अक्टोबर यता जारी युद्धमा ५ हजार ६०० बालबालिकासहित १३ हजार ३०० को मृत्यु भइसकेको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *