जनताको काम नगर्न्र उम्मेदवारलाई मत दिन्नौं
बागलुङ । आसन्न स्थानीय तहको निर्वाचनका लागि बागलुङमा उम्मेदवारले घरदैलो अभियान सुरु गरेका छन् ।
। मनोनयन, दाबी विरोध, मनोनयन फिर्ता र अन्तिम नामावली प्रकाशनको काम सकिएसँगै राजनीतिक दल र स्वतन्त्ररूपमा उम्मेदवार भएकाले यहाँ भोट माग्न घरदैलो अभियान सुरु गरेको हो । उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएससँगै उम्मेदवारहरुले प्रतिस्पर्धीका बारेमा स्पष्ट भएका छन् ।
चुनावी घोषणा पत्र, प्रतिबद्धता र संकल्प पत्र लिएर विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवार सर्वसाधारणको घरदैलो अभियानलाई तीव्रता दिएको छ । निर्वाचन आयोगले यसपटक मतदाता शिक्षा नदिए पनि दल भने आफ्नो चिह्नमा मतदान गर्न सिकाउँदै गाउँ पस्न थालेका छन् । आफ्ना एजेण्डासहित मतदाताको घरदैलो गर्ने उम्मेदवार र दललाई यसअघिका निर्वाचनमा जस्तो सहज भने छैन । सूचना प्रविधि, चेतना र सामाजिक सञ्जाललगायत क्षेत्रमा भएको विकासले उम्मेदवार र दललाई जवाफदेही बनाउने छन् ।
पटकपटक आश्वासनमा मतदान गरेका सर्वसाधारण यो पटकको निर्वाचनमा भरपर्दो योजना भएका उम्मेदवारलाई मात्रै मतदान गर्ने सोचमा देखिन्छन् । पटकपटकका निर्वाचनमा गरेका प्रतिबद्धता र जिते वा हरेपछिका कामका विषयमा यो पटक सर्वसाधरण प्रश्न गर्ने मुडमा छन् । “यसपटक प्रतिबद्धता मात्रै होइन, कामको योजनासहित आउने उम्मेदवारलाई मत दिने मानसिकता बनाएको छु’’, बागलुङ नगरपालिका–१२ अमलाचौरका बलराम चापागाईंले भन्नुभयो, “आश्वासन पहिला पनि पाइएको हो तर काम के कति भए भनेर हामी मतदाताले मूल्याङ्कन गर्नुपर्छ ।’’
स्थानीय तह नजिकको सरकार हो । नजिकको सरकारका काम सर्वसाधारणले नजिकबाट नियालिरहेका छन् । बलरामजस्तै सर्वसाधारण यसपटक मत माग्न पुग्ने उम्मेदवारसँग विगतका काम र भावी योजनाको फेहरिस्त माग्ने तयारीमा छन् । “काम गरेर खाने हामी सर्वसाधारणलाई झुटा आश्वासनले हुँदैन । दुःख सुखमा साथ दिने जनप्रतिनिधि चाहिन्छ’’, काठेखोला गाउँपालिका–७ का युवराज गौतमले भन्नुभयो, “आफैँ पछुताउन नपर्ने गरी मतदान गर्न उम्मेदवारसँग प्रश्न गर्छौं र विश्वासिलो आधार दिनेलाई मतदान गर्ने सोच छ ।’’
बोलेका काम गरुन्, जनता नठगुन, स्रोतसाधनले पुगेसम्मको विकासको काम गरुन् नभए जनता खुसी हुने वातावरण सिर्जना गरुन् भन्ने धारणा सर्वसाधारणमा विकास भएको उहाँले बताउनुभयो । सडकमा मात्रै ध्यान पु¥याउने जनप्रतिनिधिले शिक्षा स्वास्थ्य, खानेपानी, सिँचाइ र कृषि पूर्वाधारका क्षेत्रमा योजना ल्याउन आवश्यक रहेको जैमिनी नगरपालिका–९ का स्थानीय राजु शर्माले बताउनुभयो ।
‘पटकपटक कति ठगिनु, कति झुटा कुरामा अल्झिनु, दलका दासी जस्तो भइयो’ शर्माले भन्नुहुन्छ, “यसपटकको मत नठग्ने उम्मेदवारको लागि हुनेछ, ठग्दिन भन्ने वातावरण उम्मेदवारले बनाउनुपर्छ ।’’ पूरा हुनै नसक्ने योजना प्रतिबद्धता पत्रमा उल्लेख नगर्न सर्वसाधारणको आग्रह छ । “थोरै काम गर्छु भनुन् तर काम गरुन्’’ शर्माले भन्नुभयो, “सपना ठूलाठूला बाँड्ने काम ससाना पनि गर्न नसक्ने नहोस् ।’’
स्थानीय तहमा जनप्रतिनिधि हुनेले निर्वाचित भएपछि आफू र आफ्नाको मात्रै सेवामा लाग्दिन भनेर प्रतिबद्धता पत्रमा उल्लेख गर्नुपर्ने सर्वसाधारणको माग छ । दलले सक्रिय कार्यकर्ता भएको घर र गाउँमा टिका लगाएर पार्टीको सदस्य हो भन्ने र मत गनेर हारजितको आँकलन गर्ने प्रवृत्ति यसपटक अनुत्पादक हुने देखिन्छ । नयाँ पुस्तामा आएको सचेतना र विकासप्रतिको मोहले जुजारु र विकासप्रेमी उम्मेदवार यसपटकको निर्वाचनमा विजयी हुनेछन् ।