जन्ममिति विवादमा तानिएका सिग्देल रथीमा बढुवा

काठमाडौं । जन्ममिति विवादमा तानिएका उपरथी अशोकराज सिग्देल रथीमा बढुवा भएको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले सिग्देललाई रिक्त रथी पदमा बढुवा गर्ने निर्णय गरेको हो ।

बैठकले सेनाका महासेनानीहरु कमल बानियाँ, राजाराम बस्नेत, रोजप्रताप राणा र सञ्जय देउजाको सहायकरथीमा बढुवा गर्ने निर्णय गरेको छ । सेनाका बलाधिकृतरथी सीताराम खड्काको अध्यक्षतामा गठित बढुवा समितिले उनको नाम रथी बढुवाका लागि सिफारिस गरेपछि सरकारले त्यही आधारमा निर्णय गरेको हो ।

सैनिक मुख्यालयमा गत शुक्रवार बसेको सेनाको बढुवा समितिको बैठकले सिग्देललाई रथी पदमा बढुवा गर्ने निर्णय गर्दै रक्षामा पत्र पठाएको थियो । २०४३ सालमा सैनिक अधिकृतका रुपमा सेनामा प्रवेश गरेका सिग्देल २५ बेसिकका सैनिक अधिकृत हुन् । सेनाको हायर कमान्ड कोर्समा समेत उनी प्रथम भएका थिए । हाल उनी सेनामा महत्वपूर्ण मानिने नीति महानिर्देशनालयको महानिर्देशक छन् ।

सेनाका बलाधिकृतरथी सरोजप्रताप राणाले अवकाश पाएपछि उनको ठाउँमा वरीयतामा अघि रहेका उपरथी ताराध्वज पाण्डेलाई सेनाको बोर्डले रथी बढुवाका लागि सिफारिस गरेको थियो । तर, पाण्डेको उमेर विवादका कारण उनले दिएको राजीनामा स्वीकृत भएपछि सिग्देलको लागि रथी बढुवाको बाटो खुलेको हो । रथीमा बढुवासँगै सिग्देलको हालका प्रधानसेनापति प्रभुराम शर्माले अवकाश पाएपछि प्रधानसेनापति बन्ने बाटो खुला भएको छ ।

मन्त्रिपरिषदको बैठकले सेनाका उपरथीहरुको समेत सरुवा गरेको छ । सरुवा हुनेहरुमा सेनाको पश्चित पृतनाका पृतनापति रहेका उपरथी दीपक बानियाँको कार्यरथीको कार्यालय, विजय थापा सैनिक इन्टेलिजेन्स महानिर्देशनालय, प्रेमध्वज अधिकारी युद्धकार्य महानिर्देशक, सुदर्शन सिलवाल मध्यपूर्वी पृतना बर्दिवास, गणेश श्रेष्ठको सुदुरपश्चिम पृतना धनगढी र उपरथीमा बढुवा भएका सन्तोषवल्लभ पौडेलको पश्चिम पृतना पोखरामा पदस्थापन भएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *