कोइरीलाई पक्राउ गर्न माग गर्दै पीडित परिवार काठमाडौंमा
काठमाडौं । निलम्बित प्रतिनिधि सभा सदस्य लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न माग गर्दै मृतक सशस्त्र प्रहरीका असई थमन बिकको परिवार काठमाडौं आएको छ ।
मृतक असई थमन बिककी पत्नी शोभा र भाउजू कमला काठमाडौं आएका हुन् । नेकपा एमालेबाट चुनाव जितेका कोइरीविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । प्रहरी प्रधान कार्यालयले सो पुर्जी अहिले देशभरका प्रहरी युनिटहरूमा पठाएको छ । तर, अहिलेसम्म कोइरी पक्राउ नपरेको भन्दै पीडित परिवारले उनलाई पक्राउ गर्न माग गरेका छन् ।
थमनकी भाउजू कमलाले भनिन्, ‘न्याय खोज्न काठमाडौँ आएका हौँ, न्याय नपाएसम्म फर्किँदैनौँ ।’ थमनका परिवार बाँकेबाट काठमाडौं आएर कानुन कार्यान्वयन गर्ने निकायका अधिकारीहरूसँग भेटघाट थालेका छन् ।
प्रधानमन्त्री, उपप्रधान एवं गृहमन्त्री र प्रहरी प्रमुखलाई भेटेर कोइरीलाई पक्राउ गर्न दबाब दिने कमलाले जानकारी दिइन् ।