मणिपालबाट सम्पर्कविहीन युवकको शव सेतीमा फेला

लेखनाथ । पोखराको मणिपाल शिक्षण अस्पतालबाट सम्पर्कविहीन तनहुँका एक बिरामी युवकको शव सेती नदीको ड्याम खोलेर खोजी गर्ने क्रममा पोखरा–३, नदीपुरमा भन्ने ठाउँमा फेला परेको छ ।

उपचारका लागि मणिपाल अस्पतालमा भर्ना हुनुभएका १९ वर्षीय संगम मिश्र गत सोमबार साँझ साढे ६ बजेदेखि सम्पर्कविहीन थियो । मणिपालको आकस्मिक कक्षमा उपचाररत सङ्गम आफ्ना बुवा हरिप्रसाद औषधी लिन गएका बेला अस्पतालबाट निस्कएको थियो । ज्वरो आएपछि उहाँलाई उपचारका लागि भर्ना गरिएको थियो ।

नदीको बिचमा ढुङ्गामा अड्किएको अवस्थामा सङ्गमको शव फेला परेको कास्कीका प्रहरी प्रवक्ता श्रवणकुमार विकले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यालय वगर र सशस्त्र प्रहरी सम्मिलित टोलीले शव निकाली पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाइएको छ । घटनाबारे अनुसन्धान जारी रहेको प्रवक्ता विकले बताए।

मणिपाल अस्पतालबाट नदीपुरतर्फ आउने सेती नदीको झोलुङ्गे पुलको बीचमा सङ्गमले लगाएका कपडा र परिचयपत्र भेटिएका थियो । सङ्गमको परिवारले समेत ड्याम खोली खोजतलास गरिदिन आग्रह गरेको छ ।

उहाँले नदीमा हाम फालेको हुन सक्ने अनुमान गर्दै खोजीका लागि सेती नदीको ड्याम खोलिएको हो । नदी छेउछाउ नजान सार्वजनिक सूचना जारी गर्दै प्रहरीले बिहीबार मध्याह्न १२ देखि ४ बजेसम्म ड्याम खोलेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *