आफ्नै बाबुलाई मारेपछि विश्वविद्यालय गएर १४ जनाको गोली हानी हत्या


चेक रिपब्लिकमा २४ वर्षका युवकले आफ्नो बाबुलाई गोली हानेर मारेपछि प्राग चार्ल्स विश्विवद्यालय पुगेर त्यहाँ १४ जनाको गोली हानी हत्या गरेका छन्। चेक प्रहरीले उनको नाम र परिचय भने सार्वजनिक गरेको छैन। समाचार संस्था रोयटर्सका अनुसार बिहीबार दिउँसो प्रागबाट १३ माइल पर हुस्तैनमा एक व्यक्ति गोली लागेको अवस्थामा मृत फेला परेका थिए। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार त्यहाँको प्रहरीले सन्दिग्ध व्यक्ति प्राग विश्वविद्यालयमा लेक्चर लिन दिउँसो २ बजे आउँदैछन् भन्ने सूचना सामाजिक सञ्जालबाट पाएको थियो। चेक प्रहरी प्रमुख मार्टिन भोन्द्रासेकका अनुसार सन्दिग्ध व्यक्ति क्लास लिन आउने सूचनाका आधारमा प्रहरीले विश्वविद्यालयको आर्ट्स भवन पूरै खाली गराएको थियो। तर, गोली अर्कै भवनमा चलेको उनले बताए। प्राग विश्विवद्यालयका विद्यार्थी जकोब वैजमनले सिएनएनलाई बताएअनुसार गोली चल्नुअघि उनी एक प्राध्यापकसँग कक्षाकोठामा थिए। गोली चलेको आवाज सुन्नेबित्तिकै कक्षाकोठामा रहेका एक युवकले ढोका बन्द गरे। त्यसपछि प्राध्यापकले पनि ढोका खुल्न नमिल्नेगरी कक्षाकोठामा रहेका फर्निचरका सामानहरूले ढोका राखेका थिए। ‘प्रहरी पुगेपछि मात्रै हामीले अवरोध हटाएर ढोका खोल्यौं,’ वेजमनले सिएनएनसँगको कुराकानीमा भनेका छन्, ‘बाहिर निस्कँदा जताततै रगत नै रगत थियो। विद्यार्थीहरू चिच्याइरहेका थिए। गोली चलेपछि त्यहाँका विद्यार्थीहरू भवनका विभिन्न स्थानमा लुकेका थिए। विश्वविद्यालयमा अन्धाधुन्ध गोली चल्दा १४ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्। प्रहरी प्रमुख भोन्द्रासेकका अनुसार घाइतेमध्ये १० जनाको अवस्था गम्भीर छ। प्रहरीले विश्विविद्यालयको भवनमा हतियारहरू पनि फेला पारेको छ। गोली प्रहार गर्ने युवक भने मृत फेला परेका छन् ।

१४ जनाको हत्या गरी उनले आत्महत्या गरेको प्रहरीको अनुमान छ। यसबारे यकिन भइनसकेको प्रहरी प्रमुख भोन्द्रासेकले अन्तर्राष्ट्रिय सञ्चारमाध्महरूलाई जानकारी दिएका छन् । गोली चलाउने व्यक्तिसँग विभिन्न हतियारको लाइसेन्स भएको प्रहरीले जनाएको छ। आक्रमण पछाडी कुनै आतंकवादी समूहको हात नभएको पनि त्यहाँको प्रहरीले जनाएको छ। घटनापछि प्रहरीले गोलि प्रहारका अन्य घटनामा पनि ती युवकको संलग्नताबारे अनुसन्धान गरिरहेको छ। एक साताअघि प्रागकै एउटा गाउँको जंगलमा एक पुरूष र २ महिनाकी शिशु गोली लागेको अवस्थामा मृत फेला परेका थिए। प्रहरी प्रमुख भोन्द्रासेकले सो घटनामा पनि उनकै संलग्नता रहेको अनुमान गरिएको बताएका छन्। चेक सरकारले यसलाई इतिहासकै सबैभन्दा दुःखद खबर भनेका छन्। सरकारले भोलि देशभर शोक मनाउने भएको छ। चेक रिपब्लिकका राष्ट्रपति यसलाई इतिहासकै क्रुर र भयानक घटना भनेका छन् । चेक रिपब्लिकमा गोलीकाण्डहरू दुर्लभ मानिन्छ। रोयटर्सका अनुसार यसअघि सन् २०१९ मा ४२ वर्षीय पुरूषले अस्पतालमा गोली चलाउँदा ६ जना मारिएका थिए। त्यसअघि सन् २०१५ मा एक रेस्टुरेन्टमा एक व्यक्तिले ८ जनाको गोली हानी हत्या गरेपश्चात आफैंमाथि गोली चलाएर आत्महत्या गरेका थिए।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *