राप्ति बस दुर्घटना मृतकको संख्या १२ पुग्यो

काठमाडौं । पूर्व पश्चिम राजमार्ग अन्तर्गत दाङको भालुबाङमा पुलबाट यात्रुवाहक बस राप्ती नदीमा खस्दा भएको दुर्घटनामा परि मृत्यु हुनेको संख्या १२ पुगेको छ । बाँकेको नेपालगन्जबाट काठमाडौंका लागि हिँडेको भे १ ख ३९१२ नम्बरको ३५ जना यात्रु बोकेको बस गए राति राप्ती गाउँपालिका–१ भालुबाङस्थित राप्ती पुलबाट नदीमा खसेको थियो । ७ जनाको घटनास्थमै मृत्यु भएको र अन्य पाँच जनाको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङका प्रमुख प्रहरी निरीक्षक उज्ज्वलबहादुर सिंहले जानकारी दिए ।

मृतकहरुमध्ये ८ जनाको पहिचनल खुलेको छ । दुर्घटनामा मृत्यु हुनेमा मकवानपुरको हेटौँडाका ३९ वर्षीय सौरभ विष्ट, काठमाडौँको चन्द्रागिरि नगरपालिका– ५ का ६५ वर्षीय ताराकान्त पाण्डे, भारत उत्तर प्रदेशका ३१ वर्षीय मुने, जुम्लाका ४० वर्षीय मुनबहादुर रावत, बाँकेका २० वर्षीय रामबहादुर हरिजन, रुकुमका २५ वर्षीय दीपक कामी, भारत विहारका ६७ वर्षीय देवेन्द्र राय तथा बाँकेको नेपालगञ्जकी ६० वर्षीया कुसुम बस्नेत रहेको प्रहरीले जनाएको छ । यस्तै, दुर्घटनामा परि घाइते भएका अन्य २३ जनाको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको उनले बताए । घटना के कसरी भएको भन्नेबारेमा चालकलाई नियन्त्रणमा लिएर उनीमाथि र घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सल्यान त्रिवेणी निवासी २८ वर्षीय चालक लालबहादुर नेपालीले प्रहरीसमक्ष चक्का नघुमेपछि बस पुलबाट राप्ती नदीमा खसेको बयान दिएका छन् । जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी जनकबहादुर मल्लले बस चालक लालबहादुरले ‘ड्राइभ शाफ्ट’ बिग्रिएर चक्का नघुमेपछि बस नदीमा खसेको बयान दिएको बताए । यद्यपि दुर्घटनाको प्राविधिक जाँच भने हुन बाँकी रहेको उनले बताए । दुर्घटनामा सामान्य घाइते भएका चालक लालबहादुर प्रहरीको नियन्त्रणमा छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *