व्यवसायीको सम्मानका निम्ति सामान्य नीति बनाएर लागु गर्न सकिनेमा जोड ःअध्यक्ष ढकाल
काठमाडौं । ललितपुरमा आयोजित नेपाल हस्तकला महासंघको ४३औँ वार्षिक साधारणसभामा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योगी–व्यवसायीलाई राष्ट्रिय मर्यादाक्रममा समेट्न माग गरेका छन् । उनले आफू जिल्ला र वस्तुगत कार्यक्रमहरूमा जाँदा उद्योगी–व्यवसायीले मर्यादाक्रममा राख्नुपर्ने विषय गम्भीर रूपमा उठाइरहेको बताए । उत्कृष्ट व्यवसायी सम्मान (सीआईपी)का क्रममा पनि आफूहरूले धेरै असहज र कठिन परिस्थितिको सामना गर्नुपरेको उनले उल्लेख गरे । परिस्थिति सहज बनाइदिन उनले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग आग्रह गरे । उनले व्यवसायीको सम्मानका निम्ति सामान्य नीति बनाएर लागु गर्न सकिनेमा जोड दिए ।
यस्तो नीति बनाउन सरकारी खर्च नहुने उनको भनाइ छ । नेपाल सरकारले खर्च नगरीकन निजी क्षेत्रलाई इन्करेज गर्ने हिसाबका कुरा, चाहे मर्यादाक्रमको कुरा होस्, चाहे सीआईपीको कुरा होस् । चाहे अरू हौसला होस्,” उनले भने, “यस्तो किसिमको चिज अघि बढाउँदा राम्रो हुन्छ । कार्यक्रममा गृहमन्त्री श्रेष्ठले सरकार उद्योगी–व्यवसायीलाई राष्ट्रिय मर्यादाक्रममा समेट्न सकारात्मक रहेको बताए । अहिले समग्र मर्यादाक्रमका बारेमा मन्त्रालय र सरकारका अरू निकायबीच छलफल भइरहेको उनले सुनाए । उनले चाँडै नै उद्योगीको समस्या समाधानका निम्ति प्रधानमन्त्रीसहित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र अरू सम्बन्धित निकायबीचको बैठक बोलाइने पनि बताए ।