एकीकृत समाजवादीका केन्द्रीय परिषद् बैठकमा सहभागी हुने नेताहरुलाई दुई बुँदे निर्देशन
काठमाडौं । नेकपा एकीकृत समाजवादीले आसन्न दोस्रो केन्द्रीय परिषद् बैठकमा सहभागी हुने नेताका लागि दुई बुँदे निर्देशन पालना गर्नुपर्ने भएको छ ।
महासचिव घनश्याम भुसालले शुक्रबार सूचना जारी गर्दै यही माघ १४ र १५ गते हुने परिषद् बैठकमा सहभागी हुने नेताका लागि पालना गर्नुपर्ने विषयका बारेमा दुई बुँदे सूचना जारी गरेका हुन् । सूचनामा केन्द्रीय परिषद् बैठकमा सहभागी हुन आउने सबै नेताले पार्टी सदस्यता अनिवार्य नवीकरण गरेको हुनुपर्ने भनिएको छ । त्यस्तै, परिषद् बैठकमा सहभागिताका लागि केन्द्रीय निकाय, प्रदेश कमिटी, जिल्ला कमिटी, लगायतका कमिटीमा रहेका नेताहरूले समयमै आफ्नो कार्यक्षेत्रका केन्द्रीय परिषद् सदस्यहरूलाई बैठकबारे जानकारी गराउनुपर्नेछ ।
यस्तै, परिषद् बैठकमा विधान संशोधन मस्यौदाबारे छलफल हुने भएको छ । त्यसका लागि पार्टीले तयार पारेको विधान संशोधन मस्यौदामाथि सुझाव संकलन गर्न जिल्ला तहमा पठाइसकेको छ । जिल्ला तहका कार्यकर्ताको सुझावसमेत समेटेर एकीकृत मस्यौदा परिषदमा पेस गरिनेछ । केन्द्रीय परिषद् बैठकले पारित गरेको विधान मस्यौदा आगामी जेठमा हुने राष्ट्रिय महाधिवेशनले अनुमोदन गर्ने तयारी गरिएको छ ।
परिषद् बैठकमा पार्टी केन्द्रीय कमिटी, आयोग, प्रदेश कमिटी, जिल्ला कमिटी अध्यक्षहरू, प्रदेशमा मनोनीत, भ्रातृ संगठनका पदाधिकारीसहित एक हजार २ सय बढी प्रतिनिधि सहभागी हुने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिएका छन् ।