माछापुच्छ्रे बैंकले सरकारी विद्यालयको पूर्वाधार निर्माणमा सहयोग गर्दै
काठमाडौं । माछापुच्छ्रे बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत बाग्मती, कर्णाली र सुदुरपश्चिम प्रदेशका विभिन्न सरकारी विद्यालयहरुलाई आवश्यक पूर्वाधार निर्माणमा सघाउने भएको छ । बैंकले कर्णाली प्रदेशको सुर्खेत जिल्ला स्थित शारदा न।पा।वडा नं.१५, माल्नेटामा रहेको त्रिभुवन जन माध्यामिक विद्यालयमा खानेपानी सुविधाको लागि आवश्यक पूर्वाधार निर्माण गर्न सहयोग गर्ने भएको छ । त्यस्तै, सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला गोदावरी न.पा.वडा नं.०६, बडेहाँ स्थित शैलेश्वरी उच्च माध्यामिक विद्यालय परिसरमा शौचालय निर्माण गर्न सहयोग गर्ने भएको छ । बैंकले यी दुबै विद्यालयसँग सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । त्यसैगरी, बैंकले बाग्मती प्रदेशको काठमाडौं महानगरपालिका वडा नं. ४ लम्टङ्गीन स्थित पञ्चकन्या आधारभुत विद्यालयलाई आवश्यक सभाहलको निर्माण गर्न सम्झौतामा हस्ताक्षर गरेको छ ।
विद्यालय संचालनका लागि अति आवश्यक पर्ने खानेपानी तथा शौचालयको असुविधाका कारण पठनपाठनमा समेत समस्या भईरहेको जानकारी पाए पश्चात बैंकले उक्त दुई सरकारी विद्यालयहरुको अवस्था अवलोकन गरी उक्त पूर्वाधारहरु निर्माण गर्ने निर्णय गरेको हो । २८९ जना विद्यार्थी एंव १८ जना शिक्षक÷कर्मचारी कार्यरत त्रिभुवन जन माध्यमिक विद्यालयले ३५०० मिटर टाढा रहेको मुहानबाट अस्थायी रुपमा पानीको पाईप जडान गरि खानेपानीको व्यवस्था गर्दै आएको छ । र, खडेरीको समयमा पानी सुक्ने, डढेलो लागेको बेलामा पानीको पाईप जलेर आपूर्ति बन्द हुने लगायतका समस्या भोगिरहेको छ । त्यस्तै, १८०० भन्दा बढी विद्यार्थी र ३५ जना शिक्षकरकर्मचारी कार्यरत शैलेश्वरी उच्च माध्यामिक विद्यालयमा भएको अस्थायी शौचालयको अवस्था नाजुक रहेको हुँदा विद्यार्थी एंव शिक्षकहरुले समस्या भोगिरहेका बैंकले जानकारी गराएको छ ।