अटो क्षेत्रको लागि दीर्घकालीन नीतिको आवश्यकता ः अध्यक्ष चौधरी
काठमाडौं । अटो पत्रकार संघ (जाम) ले आयोजना गरेको कार्यक्रममा बोल्दै नाडा अटोमोबाइल एशोसिएसन नेपाल (नाडा) का अध्यक्ष करण चौधरीले देशबाट गाडीका उपचार गर्ने डाक्टरहरू पलायन हुन थालेको बताएका छन् । चौधरीले ठूलो मात्रामा गाडीका मेकानिकल र इन्जिनियरहरू पलायन हुन थालेको बताएका हुन् । ‘उहाँहरू मेकानिक्स र इन्जिनियरको सिप सिक्नका लागि जानु भएको हैन, यहाँबाट उहाँहरू विदेश गएर यहाँको भन्दा तल्लो दर्जामा बसेर काम गर्न गरिराख्नु भएको छ । अटो क्षेत्र समस्याबाट गुज्री रहेको बताउँदै चौधरीले अटो क्षेत्रको लागि दीर्घकालीन नीतिको आवश्यकता रहेको पनि बताए ।
‘प्रदूषणबाट मर्ने कि अर्थतन्त्रको समस्याबाट मर्ने पहिला त्यो छानौं,’ ‘उनले भने, ‘तर दुवैबाट नमर्ने वातावरण सिर्जना गरी मिलेर अगाडी बढौं,’ उनले भने । चौधरीले नाडा युरो ६ कार्यान्वयनको विरोधी नभएको बताए । उनका अनुसार पछिल्लो समय नेपालमा ईभीको तुलनामा आइसीई गाडीहरू बिक्री हुन छाडेका छन् । उनले नेपालमा वातावरण प्रदूषणको कमी र ऊर्जाको खपत कम गर्नको लागि भए पनि ईभीको आवश्यकता रहेको बताए । ‘सरकारले विद्युतीय यातायातलाई प्राथमिकता दिएर त्यसलाई प्रोत्साहन गर्न थालेको २,३ वर्ष भयो, अहिले मान्छेहरू आइसीईका गाडी छाडेर ईभीका गाडी किन्न थालेका छन्, ईभी सञ्चालन पश्चात् वातावरणमा कस्तो सुधार आएको छ, त्यस विषयमा निहाल्न पनि आवश्यक छ । चौधरीले गाडीले भन्दा बढी उद्योगले इन्धनको खपत गरिरहेको बताउँदै उद्योगलाई विद्युतीकरण तर्फ लैजान आवश्यक रहेको पनि बताए ।