क्यानडाविरुद्ध नेपाल ९ विकेटले विजयी, रोहित बने ‘प्लेयर अफ द सिरिज’
काठमाडौं । क्यानडाविरुद्ध तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेटमा नेपाल ९ विकेटले विजयी भएको छ । यससँगै नेपालले तीन खेलको सिरिज क्लिनस्वीप गरेको छ ।
सोमबार अन्तिम एकदिवसीय खेलमा त्रिवि क्रिकेट मैदानमा क्यानडाले दिएको २३३ रनको लक्ष्य पछ्याएको नेपालले अनिलकुमार साह र भीम सार्कीको शतक मद्दतमा ४४.३ ओभरमा लक्ष्य पूरा गर्यो । अनिल र भीमले दोस्रो विकेटका लागि अविजित १८९ रनको कीर्तिमानी साझेदारी गर्दै नेपाललाई जित दिलाए । यो एकदिवसीय क्रिकेटमा नेपालको सबभन्दा ठूलो साझेदारी हो ।
अनिलले ११६ बलमा ११ चौका र एक छक्काको मद्दतमा शतक पूरा गरे भने भीमले १२७ बलमा ११ चौका र एक छक्काको मद्दतमा शतक बनाएका हुन् । एकदिवसीय क्रिकेटमा दुई नेपाली ब्याट्सम्यानले शतक पूरा गरेको यो पहिलो पटक हो । अनिल ११२ र भीम १०१ रनमा अविजित रहे ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २३२ रन बनाएको थियो । उसका लागि नवनित दलिवालले ५० रन बनाए भने निखिल दत्तले ४५ रन बनाए ।
नेपालका डेब्युटेन्ट हेमन्त जिसीले ३ विकेट लिए भने कुशल मल्लले २ तथा पवन सरार्फ, आकाश चन्द र ललित राजवंशीले समान १–१ विकेट लिएका थिए ।
साथै नेपालका कप्तान रोहित पौडेल क्यानडाविरुद्धको खेलको ‘प्लेयर अफ द सिरिज’ बनेका छन् । क्यानडाविरुद्धको ३ खेलको सिरिजमा रोहितले ६ विकेट लिएका थिए भने ९५ रन बनाएका थिए । नेपालले क्यानडाविरुद्धको सिरिजका तिनै खेल जितेर क्लीन स्वीप गरेको छ अब नेपालले फेब्रुअरी १५ देखि आइसीसी क्रिकेट विश्वकप लिग-२ को पहिलो सिरिज खेल्ने तालिका रहेको छ ।