को हुन् सम्भावित नेपाल टेलिकमको प्रबन्ध निर्देशक ?

काठमाण्डौं । सरकारले नेपाल टेलिकमको प्रबन्ध निर्देशक नियुक्ति सम्बन्धि निर्देशिका संशोधन गरेको छ। गत साताको मन्त्रिपरिषद बैठकले टेलिकमको प्रबन्ध निर्देशक (एमडी) नियुक्तिसम्बन्धी निर्देशिका संशोधन गर्दै उमेर हद, शैक्षिक योग्यता र कार्य अनुभव हेरफेर गर्नुका साथै बर्खास्तीको प्रावधान पनि थप गरेको हो। निर्देशिका संशोधनलाई लिएर आलोचना गरीएपनि टेलिकमका कर्मचारीहरु नै यसबाट बढी खुसि भएको पाइएको छ। प्रबन्ध निर्देशक पदको लागि टेलिकम भित्रैबाट धेरै कर्मचारी योग्य हुने भएकाले संशोधनलाई लिएर कर्मचारीहरु बढी खुसि भएका हुन। सरकारले शैक्षिक योग्यता, कार्य अनुभव र उमेरहद गरि तीन महत्त्वपूर्ण बिषय संशोधन गरेको हो। शैक्षिक योग्यतामा संशोधन गरि अब इन्जिनियर तथा मेकानिकल क्षेत्रमा स्नातकोत्तर भए हुने भएको छ भने कार्य अनुभव पनि अब सरकारको निकायभित्र १२ बर्ष काम गरेको भए हुनेछ । उमेर पनि ५८वर्ष ननाघेको हुनुपर्नेछ। यसअघि निर्देशिकामा वाणिज्य, व्यवस्थापन, कानून, अर्थशास्त्र, सूचना प्रविधि, व्यापार प्रशासन, इलेक्ट्रोनिक्स इन्जिनियरिङ, कम्युटर इन्जिनियरिङ र टेलिकम्युनिकेसन इन्जिनियरिङमा स्नातकोत्तर गर्नेलाई मात्रै प्रतिस्पर्धा गर्न दिने व्यवस्था थियो। अहिले संसोधनगरि सिभिल र मेकानिकल इन्जिनियर पनि टेलिकमको नेतृत्वमा आउँन सक्ने बनाइएको हो। त्यस्तै यसअघिको कार्यअनुभवमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड र सोही प्रकृतिका दूरसञ्चार सेवा प्रदायक संस्था वा नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व भएका संस्था वा निकायमा कम्तीमा ३ वर्ष व्यवस्थापकीय कामसहित १२ वर्ष काम गरेको अनुभव हुनुपर्ने व्यवस्था थियो। त्यस्तै उमेर पनि यसअघि ३५ बर्ष पुरा भएर ५६ बर्ष ननाघेको हुनुपर्ने थियो। कतिले प्रधानमन्त्री पुष्पकमल दाहाल र सूचना संचार तथा प्रविधि मन्त्रि रेखा शर्माले चाहेको व्यक्ति ल्याउनलाई निर्देशिका नै संसोधन गरिएको भनेर सरकारको आलोचना गरेपनि अहिलेको संसोधनले टेलिकम भित्र तथा बाहिरबाट धेरै व्यक्तिलाई प्रबन्ध निर्देशकको लागि आबेदन दिन पाउने बाटो खोलिदिएको टेलिकमका कर्मचारी बताउछन। अहिलेको संसोधनले टेलिकमको बहालवाला निमित्त प्रबन्ध निर्देशक संगीता पहाडी, बिमल आचार्य लगायत दशौँ तहका अन्य कयौं कर्मचारीलाई पनि प्रबन्ध निर्देशकको लागि बाटो खोलेकोले टेलिकम भित्रैबाट संसोधनमा खुसियाली व्यक्त गरिएको हो। निर्देशिका संसोधन नगरिएको भए निमित्त प्रबन्ध निर्देशक संगिता पहाडी बिमल आचार्य, लगायत अरु आधा दर्जन बढी टेलिकमका कर्मचारी प्रबन्ध निर्देशकको दौडमा सहभागी हुन पाउने थिएनन्।
को हुन् सम्भावित प्रबन्ध निर्देशक ?
जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका हालका महाप्रबन्धक अनिलकुमार झा, बिमल आचार्य, संगीता पहाडी, टेलिकम भित्रका अन्य आधा दर्जन कर्मचारी टेलिकमका सम्भावित प्रबन्ध निर्देशक हुन्। झालाई मिल्नेगरी निर्देशिका संसोधन गरीएको बजार चर्चा भएपनि टेलिकमको प्रबन्ध निर्देशकमा बिमल आचार्य, संगीता पहाडीको पनि उत्तिकै बलियो सम्भावना रहेको बताइन्छ। बिमल आचार्य टेलिकम भित्र सबैभन्दा बढी शैक्षिक योग्यता भएका तथा शालीन व्यक्तिको रुपमा लिइन्छ भने संगीता पहाडीलाई पनि उत्तिकै बलियो उम्मेदवारको रुपमा हेरिएको छ। पूर्व प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र प्रेमबहादुर गुरुङलाई पनि टेलिकमको सम्भावित प्रबन्ध निर्देशकको रुपमा चर्चा गरिएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री र गोकुल बास्कोटा सञ्चारमन्त्री भएका बेला २२ पुस २०७५ मा डिल्लीराम अधिकारि प्रबन्ध निर्देशक नियुक्त भएका थिए। कार्यकाल सकिएपछि पनि अधिकारी टेलिकमभित्र प्रबन्धक पदमा अहिले पनि कार्यरत छन्। टेलिकमको प्रबन्ध निर्देशक नियुक्ति सम्बन्धि निर्देशिका २०७८ लाई यसअघि पनि संसोधन गरिएको थियो। अहिले कारबाहीमा परेका सुनिल पौडेललाई ल्याउन यसअघि उमेरहद ५६ बर्षलाई ४६ र कार्यअनुभवलाई १५ बर्षलाई १२ बर्ष बनाइएको थियो। टेलिकमको प्रबन्ध निर्देशक पदका लागि २२ जेठमा दरखास्त आह्वान गर्दै सूचना प्रकाशित गरिएको छ। तोकिएको योग्यता पुगेकाहरुले १५ दिन भित्र अर्थात असर ४ गते भित्र आबेदन दिनुपर्नेछ। तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडेल गैरकानुनी सम्पत्ति आर्जनको कसुरमा पक्राउ परेपछि टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा तेलिमकका नायब प्रबन्ध निर्देशक (डेपुटी एमडी) संगीता पहाडी छिन्। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले उनलाई अर्को व्यवस्था नभएसम्मका लागि कम्पनीको निमित्त प्रबन्ध निर्देशकमा नियुक्त गरेको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *