संसदका कर्मचारीको माग तत्काल सम्बोधन गर्न सांसद केसीद्वारा सरकारसँग माग
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले संसद सचिवालयका कर्मचारीको माग तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गरेका छन् ।
आज (आइतवार) प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै सांसद केसीले उक्त माग गरेका हुन् । साथै उनले नुवाकोटको ऐतिहासिक महत्वको साततले दरबार पुनर्निर्माणमा चासो नदिएको भन्दै सरकारप्रति आक्रोश व्यक्त समेत गरे ।
२०७२ सालको भूकम्पले थिलथिलो बनाएको सो दरबारको पुनर्निर्माणको काम चीन सरकारले गर्ने भने पनि अहिलेसम्म शुरु हुन नसकेकाले सरकारले नै सो काम तत्काल शुरु गर्नुपर्ने उनले दबाब दिएका छन । उनले भूकम्पपछिको पुनर्निर्माणको काममा सरकार अझै गम्भिर नभएको आरोप पनि लगाए ।