युवालाई विशेष अवसर प्रदान गर्ने नीति आवश्यक छ : राष्ट्रपति पौडेल
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राज्यको सर्वाङ्गिण विकासमा युवाहरूको विशेष योगदानका लागि उपयुक्त अवसर प्रदान गर्ने नीति आवश्यक रहेको बताएका छन् ।
राजधानीमा आज आयोजित अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा युवा सम्मेलन, २०२४ लाई सम्वोधन गर्दै राष्ट्रपति पौडेलले संघीयता, सूचनाप्रविधिको विकास तथा बदलिदो सामाजिक परिवेशअनुसार परिवर्तन भएका युवाका आवश्यकता र भावनालाई सम्बोधन गर्ने गरी नयाँ नीतिको आवश्यकता रहेको बताएका हुन् ।
उनले नेपालमा भएका प्राकृतिक सम्भावनाहरुलाई समुचित ढंगले उपयोगमा ल्याउन सके नेपालले समृद्धिका लागि कतै भौतारिन नपर्ने धारणा राखे । राष्ट्रपति पौडेलले युवा राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणका अग्रदुत, परिवर्तनका संवाहक साथै राष्ट्रको अमूल्य सम्पत्ति भएको उल्लेख गरे ।
उनले परिवर्तित विश्व परिवेश, विज्ञान प्रविधिमा आएको नविनतम विकासको सन्दर्भमा युवासम्बद्ध समस्या तथा चुनौतीहरूलाई सम्बोधन गर्न आवश्यक रहेको बताए ।
राष्ट्रपति पौडेलले भने साहस, सिर्जनशीलता, उत्सुकता एवं उच्च आत्मविश्वासका कारण यो समूहलाई राष्ट्र निर्माणको प्रमुख स्रोत मानिन्छ । तसर्थ राष्ट्रको समग्र विकास र परिवर्तनमा युवाको अहम् भूमिका रहन्छ । परापूर्वकालदेखि नेपाली युवाले साहसी, योद्धा, वीरताको प्रतिक तथा विकास र परिवर्तनको संवाहकको रुपमा भूमिका निर्वाह गर्दै आएका छन् ।’ उनले भने ।