फेमकुमारी डोरनाथ ढुङ्गेल साहित्य प्रतिष्ठानद्धारा स्रष्टा सम्मान
काठमाडौं । फेमकुमारी डोरनाथ ढुङ्गेल साहित्य प्रतिष्ठानको आयोजनामा भक्तपुरको मध्यपुर ठिमीमा साहित्यक विमर्श , स्रष्टा सम्मान कार्यक्रम तथा जनमत मासिक पत्रिकाको भक्तपुर विशेष अङ्क विमोचन कार्यक्रम आयोजना गरियो । कार्यक्रम दुई चरणमा संचालन गरिएको थियो । पहिलो चरणमा साहित्यिक विमर्शका साथै फेडोल उत्कृष्ट सिर्जना सम्मान अर्पण गरिएको थियो । दोस्रो चरणमा साहित्यिक चर्चा परिचर्चा गरिनुका साथै जनमत मासिक पत्रिकाको भक्तपुर विशेष अङ्क लोकार्पण गरियो । पहिलो चरणको कार्यक्रममा फेमकुमारी डोरनाथ ढुङ्गेल साहित्य प्रतिष्ठानबाट बर्सेनि प्रदान गरिने गरि स्थापना भएको फेडोल उत्कृष्ट सिर्जना सम्मान यस वर्ष २०८० मा प्रकाशित पुस्तकहरू मध्ये प्रतिष्ठानले उत्कृष्ट ठहर गरेका तीन कृतिका तीन जना स्रष्टालाई फेडोल उत्कृष्ट सिर्जना सम्मान २०८० बाट सम्मानित गरियो । यी तीन पुस्तक तथा लेखकमा भक्त गाथा ग्रन्थका लेखक शिवप्रसाद ढकाल, क्रान्तिदूत महाकाव्यका महाकाव्यकार खेमराज निरौला र लहना र तीर कविता सङ्ग्रहका कवि अभय श्रेष्ठ हुनुहुन्थ्यो । कार्यक्रमको अध्यक्षता फेमकुमारी डोरनाथ ढुङ्गेल साहित्य प्रतिष्ठानका अध्यक्ष साहित्यकार राममणि ढुङ्गेलबाट भएको थियो ।

प्रमुख अतिथि पूर्व वडागुरुज्यू प्रा डा. माधवप्रसाद भट्टराई रहनुभएको थियो । उत्कृष्ट ठहर भै सम्मानित पुस्तक तथा लेखकका विषयमा वेग्लावेग्लै तीन जना विद्वान्ले आफ्नो धारणा राख्नुभएको थियो । शिपप्रसाद ढकालको भक्त गाथा ग्रन्थका विषयमा आफ्नो धारणा राख्दै पण्डित मोहनप्रसाद आचार्यले नेपालमा जन्म लिई वा नेपालमा विभिन्न हिसाबले क्रियाशील रही नेपाल चिनाउने , सनातन धर्म संस्कार कला साहित्य संस्कृतिको सेवा गर्ने महानतम व्यक्तित्वहरूको विषयमा खोज अनुसन्धान गरी झण्डै तीन सय जना समेट्दै ८७६ पृष्ठको वृहत् ग्रन्थ निकालेर शिवप्रसाद ढकालले स्तुत्य कार्य गर्नुभएको छ भने यस्तो बहुउपयोगी पुस्तकलाई उत्कृष्ट पुस्तकका रूपमा छनोट गरी सम्मान गरेकोमा फेमकुमारी डोरनाथ ढुङ्गेल साहित्य प्रतिष्ठानलाई मुरीमुरी धन्यवाद छ भन्नुभयो । क्रान्तिदूत महाकाव्यका विषयमा बोल्दै प्रा डा. हेमनाथ पौडेलले खेमराज निरौलाको क्रान्तिदूत महाकाव्य नेपालको वामपन्थी आन्दोलन चिनाउने दस्तावेज जस्तो लाग्दछ र पनि यो महाकाव्य २९ सर्गमा समेटिएको विभिन्न छन्दहरू प्रयोग गर्दै लेखिएको मौलिक महाकाव्य हो भन्नुभयो । त्यसरी नै अभय श्रेष्ठको लहना र तीर कविता सङ्ग्रहका विषयमा बोल्दै डा रमेश सुभेक्षुले अभय श्रेष्ठ प्रगतिशीलतामा कलम चलाउने स्रष्टाकारूपमा हेर्न बुझ्न सकिने र लहना र तीरय मा समेटिएका कविताहरू यस्तै किसिमका रहेको पाइन्छ भन्नुभयो । कार्यक्रममा प्रमुख अतिथि प्रा डा. माधवप्रसाद भट्टराईले आफ्ना माता फेमकुमारी ढुङ्गेल तथा पिता डोरनाथ ढुङ्गेलको संझनामा संस्था गठन गरि प्रत्येक वर्ष उत्कृष्ट पुस्तकका सर्जकलाई सम्मान गर्ने परम्पराको थालनी गर्ने साहित्यकार राममणि ढुङ्गेल धन्यवादको पात्र हुनुहुन्छ । राममणि ढुङ्गेल आफै पनि साहित्यकार हुनुहुन्छ र २०५५ सालतिर म आफैले साहित्यिक पत्रिकाको सम्पादन गर्दा राममणि ढुङ्गेलको नाटक प्रकाशन गरेको सम्झना छ भन्नुभयो । कार्यक्रमको सभापतित्व गरिरहनु भएका फेमकुमारी डोरनाथ ढुङ्गेल साहित्य प्रतिष्ठानका अध्यक्ष राममणि ढुङ्गेलले फेमकुमारी डोरनाथ ढुङ्गेल साहित्य प्रतिष्ठान वि।सं २०६८ मा गठन भएको र २०७२ सालदेखि वर्षभरि प्रकाशित उत्कृष्ट कृतिका सर्जकलाई उत्कृष्ट सिर्जना सम्मान अर्पण गर्दै आएको र यस अवधिमा गायत्री विष्ट, रामप्रसाद पन्त, मोहन दुवाल लगायत स्रष्टा सम्मानित भैसकेको बताउनुभयो । साथै उहाँले आफ्ना मातापिताको संझनालाई दिगो बनाईराख्न आफूले प्राप्त गरेको पुरस्कार तथा पुस्तकको रोयल्टीबाट अक्षयकोष खडा गरि बर्सेनि कार्यक्रम गर्दै आएको बताउनुभयो । दोस्रो चरणको कार्यक्रममा जनमत मासिक भक्तपुर विशेष अङ्कको लोकार्पण गरिएको थियो । उक्त कार्यक्रममा सभाध्यक्ष प्रतिष्ठानका अध्यक्ष राममणि ढुङ्गेल रहनु भएको थियो । प्रमुख अतिथि प्रा डा हेमनाथ पौडेल रहनु भएको थियो । साथै विशेष अतिथिमा जनमत मासिकका प्रधान सम्पादक मोहन दुवाल र जेष्ठ नागरिक कथाकार धनमान श्रेष्ठ रहनु भएको थियो । यस सत्रमा विशेष अतिथि धनमान श्रेष्ठले जनमतले भक्तपुरका स्रष्टाहरूलाई समेटेर भक्तपुर विशेष अङ्क निकालेर भक्तपुरलाई चिनाउनु भएकोमा जनमतका प्रधान सम्पादक मोहन दुवाल र अतिथि सम्पादकका रूपमा रही भक्तपुरका स्रष्टाको खोजी गरि रचना सङ्कलन गरि अथक मेहनत गरि जनमत भक्तपुर विशेष अङ्क यसरूपमा ल्याउने साहित्यकार राममणि ढुङ्गेललाई धन्यवाद दिन चाहन्छु । यसमा समेट्न नसकिएका स्रष्टाहरूलाई पुनः अर्को अङ्कमा समेट्न प्रधान सम्पादक शीत अनुरोध गर्दछु भन्नुभयो । विशेष अतिथि एवम् जनमतका प्रधान सम्पादक मोहन दुवालले जनमत यात्राको विषयमा प्रकाश पार्नुभयो ।
प्रमुख अतिथि प्रा डा हेमनाथ पौडेलले जिल्ला विशेष अङ्क साहित्यकार विशेष अङ्क निकालेर अनवरत लागिरहने जनमतका प्रधान सम्पादक मोहन दुवाललाई धन्यवाद भन्नुभयो । सभाध्यक्ष फेमकुमारी डोरनाथ ढुङ्गेल साहित्य प्रतिष्ठानका अध्यक्ष तथा जनमत भक्तपुर विशेष अङ्कका अतिथि सम्पादक राममणि ढुङ्गेलले जनमत भक्तपुर विशेष अङ्कका लागि रचना सङ्कलन गर्दाको तीतामीठा अनुभवहरू सुनाउनुहुँदै २०७९ श्रावणमा राममणि ढुङ्गेल विशेष अङ्क प्रकाशन गरेर , भक्तपुर विशेष अङ्कको अतिथि सम्पादकको जिम्मेवारी प्रदान गरेर लेख रचना सङ्कलन र सम्पादनको अवसर समेत प्रदान गर्नुभएकोमा जनमतका प्रधान सम्पादक मोहन दुवाललाई मुरीमुरी धन्यवाद प्रदान गर्दछु भन्नुभयो । साथै संयोगले दुवै अङ्क आफ्नो जन्म महिना श्रावण महिनामा निस्कन गएकोमा आफूलाई खुसी लागेकोसमेत बताउनुभयो । जनमत भक्तपुर विशेष अङ्कमा भक्तपुरका ख्यातिप्राप्त दिवङ्गत स्रष्टाहरू चक्रपाणि चालिसे , युद्धप्रसाद मिश्र , लक्ष्मीनन्दन शर्मा , गणेशबहादुर खत्रीलाई समेट्नुका साथै हालमा लेखिरहेका हरिबहादुर श्रेष्ठ , धनमान श्रेष्ठ , राममणि ढुङ्गेल, योगेन्द्र प्रधान, प्रतिसरा सायमी, नीरज लवजू लगायत ७२ जना स्रष्टाको रचना समावेश गरिएको छ ।