स्टार्टअप कर्जा प्रवाहका निम्ति त्रिपक्षीय सम्झौतापत्रमा हस्ताक्षर
काठमाडौं । स्टार्टअप कर्जा प्रवाहका निम्ति औद्योगिक व्यवसाय विकास प्रतिष्ठान, राष्ट्रिय वाणिज्य बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषका अधिकारीबीच त्रिपक्षीय सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सोमबार सिंहदरबारस्थित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा उक्त सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो । सम्झौतापत्रमा निक्षेप तथा कर्जा सुरक्षण कोषका तर्फबाट कार्यकारी अधिकृत रमेश घिमिरे, राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल र प्रतिष्ठानका कार्यकारी निर्देशक उमेश गुप्ताले हस्ताक्षर गरेका छन् । कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले स्टार्टअप कर्जा प्रवाह सहजीकरणका निम्ति त्रिपक्षीय सम्झौता गरिएको बताए ।
स्टार्टअप कर्जा प्रवाह गरी त्यस्तो उद्यमलाई प्रोत्साहन तथा प्रभावकारी बनाउने योजना रहेको उनले सुनाए । त्यसका निम्ति वित्तीय क्षेत्रको साथ–सहयोग उनले अपेक्षा व्यक्त गरे । निक्षेप तथा कर्जा सुरक्षण कोषका कार्यकारी अधिकृत घिमिरेले स्टार्टअप कर्जा सुरक्षणका निम्ति कोषले छुट्टै सहुलियतको व्यवस्था गरेको बताए । प्रतिष्ठानका कार्यकारी निर्देशक गुप्ताले स्टार्टअप उद्यमका निम्ति एक अर्ब रुपैयाँको बजेट विनियोजन गरिएको उल्लेख गरे । राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत खनालले बैंकले गत वर्षदेखि स्टार्टअप उद्यम कर्जा प्रवाहमा सहभागिता जनाउँदै आएको बताए । गत वर्ष बैंकले १८३ स्टार्टअप उद्यमलाई कर्जा प्रवाह गरेको उनले जानकारी गराए ।