परराष्ट्रमन्त्री राणाद्वारा दक्षिण कोरिया र फिलिपिन्सका विदेशमन्त्रीसँग भेटवार्ता
काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाद्वारा दक्षिण कोरिया र फिलिपिन्सका विदेशमन्त्रीसँग द्विपक्षीय भेटवार्ता गरेकी छन् । संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुन न्युयोर्कमा रहेकी परराष्ट्रमन्त्री राणाले मंगलबार दक्षिण कोरिया र फिलिपिन्सका विदेशमन्त्रीसँग छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता गरेकी हुन् । उनले दक्षिण कोरियाका विदेशमन्त्री चो ताय–युलसँग गरेको द्विपक्षीेय भेटवार्तामा दुई देशको मित्रता, पारस्पारिक सम्मान, समझदारी र आगामी दिनमा सम्बन्धलाई थप प्रगाढ बनाउँदै लगिने विषयमा छलफल भएको छ । भेटमा नेपाल कोरिया सम्बन्धका विविध पक्ष, आपसी हित र साझा चासोबारे कुराकानी भएको छ । परराष्ट्रमन्त्री राणाले कूटनीतिक सम्बन्ध स्थापनाको स्वर्ण वर्षका अवसरमा उच्चस्तरीय भ्रमणबाट दुई देशको सम्बन्ध थप बलियो र विस्तारित हुने बताइन् ।
उनले विदेशमन्त्रीमार्फत् कोरियाली राष्ट्रपतिलाई नेपाल भ्रमणका लागि आमन्त्रण पनि गरेकी छन् । भेटमा पछिल्लो समय ईपीएस प्रणालीमार्फत् नेपाली नागरिकलाई दिइरहेको रोजगारी एवं नेपाली विद्यार्थी र राष्ट्रसेवकलाई समेत दक्षिण कोरियाले प्रदान गरिरहेको छात्रवृत्तिका लागि परराष्ट्रमन्त्री राणाले धन्यवाद दिएकी छन् । मन्त्री राणाले कोरियालाई नेपालमा थप लगानी गर्न आग्रह गरेकी छन् । भेटमा परराष्ट्रमन्त्री राणाले नेपालले संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्, सुरक्षा परिषद्लगायतमा उमेदवारी दिएकाले कोरियाको सहयोगका लागि आग्रह गरिन् । मन्त्री राणाले मंगलबार नै फिलिपिन्सका विदेशमन्त्री एनरिक ए मानालोसँग पनि द्विपक्षीय भेटवार्ता गरेकी छन् । भेटमा दुई देशको आपसी हित र साझा चासोका साथै आगामी दिनमा गर्न सकिने सहकार्य र समन्वयबारेमा छलफल भएको छ । भेटमा परराष्ट्रमन्त्री राणाले नेपालले संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्, सुरक्षा परिषद्लगायतमा उमेदवारी दिएकाले फिलिपिन्सको सहयोगका लागि आग्रह गरेकी छन् ।