फिल्म सोल्टिनीमा प्रकाश र परीक्षा
काठमाडौँ । फिल्म ‘रङ्गेली’बाट निर्देशनमा डेब्यु गरेका अर्जुन सुवेदीले आफ्नो दोस्रो फिल्म ‘सोल्टिनी’को निर्माण घोषणा गरेका छन् ।
टिजर र फर्स्टलुक पोस्टरमार्फत् फिल्मका मुख्य कलाकार र कथावस्तुबारे जानकारी गराइएको छ । अभिनेता प्रकाश सपूत र अभिनेत्री परीक्षा लिम्बूलाई लिएर बन्न लागेको फिल्मले जातीय भेदभाव र वियोगान्त प्रेमकथा भन्नेछ । सार्वजनिक पोस्टरमा प्रकाश र परीक्षा भावुक मुद्रामा प्रस्तुत छन्, जसले उनीहरुबीच विछोड हुन लागेको संकेत गर्छ ।
टिजरमा उल्लेख भएअनुसार फिल्ममा प्रकाश ‘भीमसेन पोखरेल’ र परीक्षा ‘दिलासा राई’को भूमिकामा प्रस्तुत हुनेछन् । कथा भने भोजपुरको गाउँको हुनेछ । फिल्ममा प्रकाश र परीक्षाबाहेक अन्य कलाकारहरु निश्चित भएका छैनन् । आगामी पुष १५ गतेबाट छायांकनको तयारी गरिएको फिल्मलाई २०८२ सालको असोज ३ गते प्रदर्शन गरिने जनाइएको छ ।