लिम्बू समुदायले चासोक तङनाम पर्व मनाउँदै

काठमाडौं । लिम्बू समुदायले आज चासोक (न्वागी) पर्व मनाउँदै छन् ।

अन्नबाली भित्र्याएपछि पहिलो पटक आफ्ना कुलदेवतालाई पूजा गरी चढाएर लिम्बू समुदायले चासोक तङनाम पर्व मनाउन थालेका हुन् । लिम्बूहरूको संस्था किरात याक्थुङ चुम्लुङका जिल्ला सचिव सरोज कङ्लिवाका अनुसार किराँत समुदायमा अन्नबाली भित्र्याएपछि पहिलो पटक आफ्ना कुलदेवतालाई चढाउने परम्परा छ ।

लिम्बू समुदायका हरेक घरमा वर्षभरि उब्जाइएको अन्न कुलदेवतालाई चढाएर मात्र उपभोग गरिन्छ । यो परम्परा धार्मिक विश्वास र सामाजिक सद्भावको प्रतीक मानिन्छ । लिम्बू जातिका चाडपर्व प्रकृति पूजा र कृषिमा आधारित छन् । चासोक तङनाम लिम्बू समुदायको विशेष पर्व हो । यसलाई ‘न्वागी पूजा’भनेर पनि चिनिन्छ । यो चाड उद्यौली याममा, अन्नबाली भित्र्याएपछि, देवतालाई धन्यवाद दिने उद्देश्यले मनाइने समुदायका ज्येष्ठ नागरिक बताउँछन् । किराँत याक्थुङ चुम्लुङका अनुसार लिम्बूहरूका आदिम पूर्खाले तागेरा निङ्वाभु माङसँग प्रार्थना गरी खेतीपाती गर्न बीउबिजन प्राप्त गरेका थिए । त्यसयता, अन्न देवतालाई चढाएर मात्र उपभोग गर्ने परम्परा बसालेको लिम्बू समुदायमा जनविश्वास रहिआएको छ ।

किराँत समुदायका अन्य शाखामा पनि यो चाड विभिन्न नाम र स्वरूपमा मनाइन्छ । नेपाल सरकारले चासोक तङ्नामका अवसरमा मङ्सिर पूर्णिमाका दिन सार्वजनिक बिदा दिने परम्परा सुरू गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *