कैलालीको टीकापुर विमानस्थल सञ्चालनमा
काठमाडौँ । २७ वर्षदेखि बन्द अवस्थामा रहेको कैलालीको टीकापुर विमानस्थल नियमित सञ्चालनमा आएको छ ।
आज आइतबार तारा एयरको वाइटी १७०१ नम्बरको ट्वीनअटर विमानमा चालक दलका तीनसहित छ कर्मचारी र १२ यात्रु बोकेको विमान दिउँसो टीकापुर विमानस्थलमा अवतरण गरेसँगै विमानस्थलमा नियमित हवाई उडान सुरु भएको हो ।
यसअघि २५ असोज २०४१ सालदेखि सञ्चालनमा आएको विमानस्थल सशस्त्र द्वन्द्व सुरु भएसँगै २०५३ साल माघदेखि बन्द अवस्थामा रहेको नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए । पहिलो उडानमार्फत टीकापुर पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरूणकुमार चौधरीलगायतलाई टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा, उद्योग वाणिज्य संघ टीकापुरका उपाध्यक्ष कृष्ण बजगाईंलगायतले स्वागत गरेका थिए ।
त्यसअवसरमा राज्यमन्त्री चौधरीले टीकापुर विमानस्थलको छिट्टै स्तरोन्नति गरी आगामी दिनमा काठमाडौं–टीकापुर सिधा हवाई उडान सञ्चालन गरिने बताए ।