ओली नेतृत्वको सरकार ढल्छ भन्ने हल्लामा सत्यता नभएको पोखरेलको दाबी
दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढल्छ भन्ने हल्लामा कुनै सत्यता नभएको बताएका छन् ।
सोमबार एमाले प्रचार तथा प्रकाशन विभाग दाङले घोराहीमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता पोखरेलले यस्तो बताएका हुन् । उनले दुई प्रमुख पार्टी मिलेर बनेको सरकारलाई असफल हुने छुट नभएको समेत बताए । ‘दुई ठूला पार्टी निश्चित उद्देश्य लिएर सरकार बनाएका छन् । तर, यो सरकारले दशैँ तिहारै कट्दैन भनेर हल्ला फैलाइयो’ नेता पोखरेलले भने, ‘त्यसको प्रभाव आर्थिक क्षेत्रमा परेको छ । ’उनले सहकारी ठगी प्रकरणमा रवि लामिछानेलाई पक्राउ गरेपछि विद्रोह हुन्छ र नारायणहिटी दरबारमा राजालाई लगेर राख्छौँ भन्ने हल्ला चलाइएको समेत बताए ।
‘रवि लामिछानेलाई कानूनी कारबाही गर्दा नारायणहिटी दरबारभित्र राजा पस्नेसम्म योजना बनाइयो’ उनले भने, ‘त्यो पनि कुप्रचार नै थियो । सुरुमा केही मान्छेहरू सडकमा देखिएको भएपनि बिस्तारै हराउँदै गएको छ ।’ रविको विरुद्धमा बिस्तारै तथ्यहरू आउन थालेपछि नयाँ भन्नेवित्तिकै विकल्प हुन्छ भन्ने भ्रम चिरिएको उनले दावी गरे ।