सुकेधारमा पाँचतारे होटल मर्क्युर सञ्चालनमा,प्रधानमन्त्री ओलीले शुभारम्भ गर्ने
काठमाडौं । सुकेधारमा फ्रान्सेली ब्राण्डको पाँचतारे होटल मर्क्युर सञ्चालनमा आएको छ । एबी होल्डिङले निर्माण गरेको यो होटलका सञ्चालक देशबन्धु बस्नेत हुन् । बस्नेत नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमिति सदस्य हुन् । उनले सञ्चालनमा ल्याएको होटल मंगलबार विहान ११ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गर्ने भएका छन् । राजधानीको सुकेधारामा १०४ कोठाको पाँचतारे होटल मर्क्युर सञ्चालनमा आएको हो । ११ तले भवनसहितको यो होटलमा करिब ३ खर्ब रुपैयाँ लगानी भएको छ । होटलले अरुभन्दा फरक प्रकारको पर्यटकीय सेवा दिनुका साथै स्तरीय सेवा सुविधामा अब्बलता प्रदर्शन गर्ने भएको छ । एसिया, युरोप, अफ्रिका एवं मध्यपूर्वक ११० वटा देशमा ५४ सय भन्दा बढी होटल सञ्चालन गरिरहेको अक्कोर ग्रुप नेपाल भित्रिएको हो । अक्कोर ग्रुपभित्र रहेको ४० भन्दा बढी ब्राण्डमध्ये नेपालमा भित्रिएको मर्क्युर एउटा होटल ब्राण्ड हो । बस्नेतले द मेट्रोपोलिटन होटल प्रालिमार्फत नेपाल भित्र्याएको अक्कोरले ग्रुप अन्तर्गतको मर्क्युर ब्राण्डले पनि ६० भन्दा बढी देशमा ८१० वटा भन्दा बढी होटल सञ्चालन गरिसकेको छ । स्थानीय कला संस्कृति र परम्पराको प्रभावलाई आधुनिक डिजाइन र सेवासँग जोडेर दिइने आतिथ्यताको सेवा नै यो होटलको विशेषता हो । यसको सबै ब्राण्डको सेवामा एकरुपता दिनु र स्तरीय पर्यटीय सेवा दिने भएको छ । होटलले पूर्वाधारमात्रै नभएर सुकेधारको होटल परिसरमा हरियाली निर्माणसँगै सडक पूर्वाधारमा पनि योगदान गरेको छ । यो होटलले सार्वजनिक सेवासँगै ७० लाख रुपैयाँभन्दा बढी खर्चिएर १४० मिटर सडकसमेत निर्माण गरेको छ । पाँच रोपनी क्षेत्रफलमा फैलिएको यो होटलमा ११ तले छ । होटलको टफ फ्लोमा स्वीमिङ पुल, होटलमा नेपाली, इण्डियन, चाइनिज रेस्टुरेन्ट, तीन सय क्षमताको ब्याक्वेट, आधुनिक जिम, स्टीम र साउना, वेलनेस सेन्टरसहितका सेवा सुविधा छन् । होटलले हाल २२० जनालाई रोजगारी दिएको छ । नेपालमा सेवा शुभारम्भ गरेको मर्क्युर होटलमा एउटा एक्जुकेटिभ स्वीट, ७ वटा जुनियर स्वीट, इन्टर कनेक्टिङका स्याण्डर्ड रुमसहितका सुविधासम्मन्न कोठाहरु छन् । यो होटल सञ्चालसँगै वर्गीकरणपछि पाँच तारे स्तरको हुने दाबी होटलको छ । होटलले पर्यटन मन्त्रालय अन्तर्गतको पर्यटन विभागसमक्ष स्तर वर्गीकरणको लागि आवेदन दिएको छ । यो होटलमा भएको सेवा सुविधा र क्षमता तथा न्यूनतम सबै मापदण्ड पूरा गरेका कारण यो होटल पाँचतारे स्तर वर्गीकरण हुने उल्लेख छ । यो होटलका सञ्चालक देश बन्धु बस्नेतले मर्क्युर काठमाडौं होटलका दूरदर्शी लक्ष्यका साथ सञ्चालनमा ल्याएका हुन् । उनले इटहरिमा पनि अर्को एक पाँचतारे स्तरकै होटल सञ्चालनको तयारी गरेका छन । बस्नेत नेपालको एक गतिशील युवा व्यवसायिक नेता हुन्। बस्नेत नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारी सदस्यमा छन् । उनी महासंघको हवाई तथा यातायात समितिका अध्यक्षमा बसेर काम गरिरहेका छन । उनी जाम्बियाको मानार्थ कन्सुलर समेत हुन । बस्तेत एबी होल्डिङका अध्यक्ष हुन् । एबी होल्डिङ एक ठूलो व्यवसायिक समूह । एबी परियोजना विकास र इक्विटी लगानीमा संलग्न कम्पनी हो ।